Harsamaya
राखेपको आयोजनामा तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता हुँदै
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा काठमाडौं विश्वविद्यालय र नेपालय इन्टरनेसनलको सह–आयोजनामा तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता हुने ।

काठमाडौं - राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा काठमाडौं विश्वविद्यालय र नेपालय इन्टरनेसनलको सह–आयोजनामा तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता हुने भएको छ । प्रतियोगिता यही माघ २२ गतेदेखि सुरु हुने भएको हो । 

विश्वविद्यालय खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समितिका संयोजकसमेत रहेका राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई र काठमाडौं विश्वविद्यालयअन्तर्गत विद्यार्थी कल्याण निर्देशनालयका कामु निर्देशक डा. गोकुल केसीबीच एक कार्यक्रमका अवसरमा प्रतियोगिता आयोजनासम्बन्धी सम्झौता पत्र आदान–प्रदान गरिएको हो । 

प्रतियोगितामा पाँच खेल समावेश गरिएका छन्। टेबलटेनिसतर्फ चार, ब्याडमिन्टनमा चार, बास्केटबलमा दुई, एथलेटिक्समा छ र भलिबलमा एक स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ। भलिबलतर्फ भने छात्रको मात्र खेल आयोजना गरिने समितिले जनाएको छ ।

खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख तथा प्रतियोगिता सञ्चालन समितिका सचिव मिनकुमार शर्माका अनुसार प्रतियोगितामा कुल २७९ खेलाडीको सहभागिता रहनेछ । दुईदिने प्रतियोगिताअन्तर्गतका सबै खेलहरू धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको परिसरमा आयोजना गरिने छन् ।

आयोजकका अनुसार विश्वविद्यालयस्तरका खेलाडीबीच प्रतिस्पर्धा गराई खेलकुद विकास र विद्यार्थीहरूमा खेल भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

प्रकाशित मिति: शनिबार, माघ १७, २०८२  १०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update