काठमाडौं- वाणिज्य बैंकहरूको नाफामा सुधार भएको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा नेपालका वाणिज्य बैंकहरूको समग्र खुद नाफामा सुधार भएको हो।
बिहीबार सार्वजनिक भएको तथ्यांक अनुसार सञ्चालनमा रहेका बैंकहरूले कुल ३० अर्ब ५९ करोड ३९ लाख सात हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ११.५१ प्रतिशतले बढी हो ।
जारी भएको पछिल्लो तथ्यांक अनुासर नबिल बैंक सबैभन्दा धेरै नाफा कमाउने बैंकको सूचीमा पहिलो स्थानमा रहेको छ । उसले चार अर्ब ७५ करोड ९६ लाख ४१ हजार रुपैयाँ नाफा कमाएको छ । दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ । उसले तीन अर्ब २५ करोड २१ लाख १७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
यस्तै कुमारी बैंकले दुई अर्ब ७२ करोड ८५ हजार रुपैयाँ नाफा पुराएको छ। नेपाल बैंकको नाफा १८३.०४ प्रतिशत, सिद्धार्थ बैंकको १५०.२० प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको नाफा १३२.०४ प्रतिशतले बढेको छ ।
तर, यसबीच सबै बैंकहरूको अवस्था सुखद भने देखिएको छैन । किनभने केही बैंकहरूको नाफामा उल्लेख्य गिरावट आएको छ । सार्वजनिक विवरणअनुसार लक्ष्मी सनराइज बैंक यस अवधिमा २७ करोड ३६ लाख १५ हजार रुपैयाँ घाटामा रहेको छ ।
यसैगरी, सिटिजन्स बैंक इन्टरनेसनलको नाफामा ४५.७८ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफामा ४३.०५ प्रतिशतको कमी आएको छ । यस्तै, कृषि विकास बैंक, प्रभु बैंक, एनएमबि बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र हिमालयन बैंकको नाफा पनि गत वर्षको तुलनामा घटेको छ ।

