अमेरिका - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई तत्काल वार्तामा आउन आग्रह गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले इरानको परमाणु कार्यक्रमलाई लिएर सम्झौता गर्न ‘समय सकिँदै गएको’ भन्दै आक्रमण भयावह हुनसक्ने धम्की समेत दिएका छन् । ट्रम्पले अमेरिकाको ठुलो नौसैनिक टोली इरानतर्फ अघि बढिरहेको जानकारी पनि दिएका छन् । यो सैन्य टोली भेनेजुएलामा पठाइएकोभन्दा पनि ठुलो भएको उनको भनाइ छ ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले देशका सशस्त्र बल ‘ट्रिगरमा औँला राखेर’ बसेको र जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको ‘तत्काल र शक्तिशाली’ जवाफ दिने चेतावनी दिएका छन् ।
इरानले आफ्नो परमाणु कार्यक्रम पूर्णतः शान्तिपूर्ण भएको दाबी गर्दै आएको छ । उसले अमेरिका र उसका सहयोगी राष्ट्रहरूले लगाउँदै आएका परमाणु हतियार विकासको आरोपलाई बारम्बार अस्वीकार गर्दै आएको छ ।
यसैबिच अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सिनेटको वैदेशिक सम्बन्ध समितिमा बोल्दै इरानी शासन इतिहासमै कमजोर अवस्थामा पुगेको बताएका छन् । उनका अनुसार अर्थतन्त्र धराशायी भएकाले सरकारसँग प्रदर्शनकारीको मुख्य गुनासो सम्बोधन गर्ने क्षमता छैन ।उता ट्रम्पको चेतावनीप्रति प्रतिक्रिया दिँदै इरानी विदेशमन्त्री अराघचीले भने इरान सधैं ‘बराबरी र दबाबरहित वातावरणमा निष्पक्ष परमाणु सम्झौता’ का लागि तयार रहेको बताएका छन् । उनले शान्तिपूर्ण परमाणु प्रविधिमा इरानको अधिकार सुनिश्चित हुने र परमाणु हतियार नहुने सम्झौता स्वीकार्य हुने स्पष्ट पारे ।
इरानका उप–विदेशमन्त्री काजेम घारिबाबादीले भने अमेरिका–इरानबीच औपचारिक वार्ता सुरु नभएको, तर सन्देशहरूको आदानप्रदान भने भइरहेको जानकारी दिएका छन् ।

