Harsamaya
विदेशी सम्बन्धन कलेजहरुले शैक्षिक शोषण गरेको सरोकारवालाहरुको आरोप
विदेशी सम्बन्धन प्राप्त केही कलेजहरुले गलत क्रियाकलाप गरेको सरोकारवालाहरुले आरोप लगाएका छन् ।

काठमाडौं - विदेशी सम्बन्धन प्राप्त केही कलेजहरुले गलत क्रियाकलाप गरेको सरोकारवालाहरुले आरोप लगाएका छन् । उनीहरुले ब्रिटिश कलेजलागायतले पछिल्लो समय गरेका केही क्रियाकलापहरुको विरोध गरे ।

सोमबार पीडित विद्यार्थीको सहभागितमा अखिल क्रान्तिकारीले गरेको अन्तरक्रियामा विदेशी कलेज सञ्चालन निर्देशिका नै खारेज गर्न मागसमेत गरेका छन् । अखिल (क्रान्तिकारी)का अध्यक्ष बिरेन्द्र शाहले विदेशी सम्बन्धन प्राप्त कलेजहरुले नेपालमा खुलेआम शैक्षिक शोषण गरिरहेको आरोप लगाएका छन् ।

‘विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजको शिक्षा, भ्रम र यथार्थ’ बारे कार्यपत्र सार्वजनिक गर्दै शाहले विदेशी कलेज सञ्चालनका लागि बनेको निर्देशिका नै अवैधानिक भएकोले त्यसलाई खारेज गर्नुपर्ने माग राखे ।

मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति नन्द बहादुर सिंहले अखिल ((क्रान्तिकारी)ले उठाएको विषय निकै महत्वपूर्ण भएको बताउँदै नेपालमा फ्रेन्चाइजबाट कलेज चलाउन प्रतिबन्ध लगाउनुपर्ने बताए ।

शिक्षा क्षेत्रमा समस्या आउनुको मुख्य कारण नै नेपाल सरकार रहेको बताउँदै सिंहले भने, ‘कहीँ नभएको नेपालमै हुन्छ, जसलाई जे गरेपनि हुन्छ, मन्त्रालयले अवैध निर्देशिका जारी गरे पनि हुन्छ, विदेशी सम्बन्धन कलेज खोल्न र मनपरि गर्न पनि छुट छ । युजिसी र मन्त्रालयका जिम्मेवार व्यक्तिहरुलाई विदेशी कलेज सञ्चालन सम्बन्धि निर्देशिकाले नै फितलो नियमन गर्ने अवस्था ल्याएको छ, अनि हुँदैन त समस्या’

नेकपा (बहुमत)का सचिवालय सदस्य गुणराज लोहनीले नेपालको पाठ्यक्रम नै विदेशी रिजाउने भएको आरोप लगाएका छन् । लोहनीले नेपालका मन्त्रीहरु पनि कर्मचारीतन्त्रबाट प्रभावित हुने गरेको र उनीहरुकै अनुसार नीति–नियम बनाउँदा देशको शिक्षा क्षेत्र बिग्रेको आरोप लगाएका छन् ।

पीडित विद्यार्थी प्रियङ्का नेपालले द ब्रिटिश कलेजले विद्यार्थीहरुलाई झुक्याएर भर्ना गर्ने र मोटो रकम अशुल गर्ने गरेको आरोप लगाइन् ।

शिक्षा मन्त्रालयका उपसचिव पर्शुराम तिवारीले नेपालमा विदेशी कलेजले सम्बन्धन दिएर कर्यक्रम चलाउन पाउने नियम भएपनि उनीहरुलाई बदमासी गर्न छुट नभएको जनाए । तिवारीले धेरै कलेजहरुले नियम मिचेर विद्यार्थीमाथि शैक्षिक शोषण गरे पनि सरकारले केही गर्न नसकेको विषय स्वीकार गरे ।

प्राडा मधुसूदन गिरीले नेपालमा भएको विगतको मौलिक शिक्षा माथि विदेशीहरुले हस्तक्षेप गरेर आफ्नो पद्दति लागु गरेर देशलाई कमजोर बनाएको आरोप लगाए । गिरीले पछिल्लो समयमा विदेशी सम्बन्धन प्राप्त विश्वविद्यालयहरुले देशलाई परनिर्भर बनाउन ठूलो भूमिका खेलेको दाबी गरे ।

अर्की पीडित विद्यार्थी सजिना खड्काले विभिन्न लोभ तथा प्रलोभन देखाएर आफूहरुलाई महंगोमा ब्रिटिस कलेजले भर्ना गराएर ढाँटेको बताइन् । इपानका पूर्वअध्यक्ष पंकज जलानले नेपालमा ५९ वटा विदेशी सम्बन्धन प्राप्त कलेजहरु मध्ये केही खराब भएपनि सबै उस्तै नभएको धारणा राखे ।

नेपालमा राजनीतिक अस्थिरताको मौका उठाउँदै कतिपयले विद्यार्थीहरुमाथि शोषण गर्ने गरेको सत्य रहेको बताउँदै, त्यसलाई रोक्नुपर्ने बताए । जलानले कुनैपनि कलेजमा पढाउनु पूर्व अभिभावक, विद्यार्थी र कलेजबीच राम्रो परामर्श तथा छलफल हुँदा धेरै समस्या समाधान हुने बताए ।

क्रान्तिकारीका सचिव हरि विष्टले आफ्नो संगठनले शिक्षा क्षेत्रमा आमूल रुपान्तरण गर्न संघर्षलाई निरन्तरता दिंदै आएको धारणा राखे ।

प्रकाशित मिति: मंगलबार, माघ १३, २०८२  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update