Harsamaya
राष्ट्रियसभा सदस्य निर्वाचनः ९५ प्रतिशतभन्दा बढी मतदान
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई ।

काठमाडौं - राष्ट्रियसभा सदस्यका लागि आज भएको मतदान उत्साहजनक एवं शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

बिहान ९ बजेदेखि दिउँसो तीन बजेसम्म भएको मतदानमा सातै प्रदेशमा गरी ९५ दशमलव ६८ प्रतिशत मत खसेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।   

आगामी फागुन २० गतेदेखि रिक्त हुने १८ सदस्यका लागि आज निर्वाचन भएको हो । निर्वाचन अधिकृतका कार्यालयहरूबाट आयोगमा प्राप्त विवरणअनुसार कोशी प्रदेशमा कुल मतदाता ३६० रहेकामा ३४५ मत खसेको छ ।

मधेस प्रदेशमा ३६४ मध्ये ३४१, वाग्मतीमा ३३८ मध्ये ३१८, गण्डकीमा २२८ मध्ये २२३, लुम्बिनीमा  २९९ मध्ये २८६, कर्णालीमा १९८ मध्ये १९१ र सुदूरपश्चिममा २२४ मध्ये २२० मत खसेको प्रवक्ता भट्टराईले जानकारी दिए ।  

सातै प्रदेशमा कुल २०११ मतदाता रहेकामा १९२४ मत खसेको आयोगले जनाएको छ । शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान गराउन सहयोग गर्ने राजनीतिक दल, उम्मेदवार तथा सरोकार भएका सबैलाई आयोगले धन्यवाद दिएको छ । सबै मतपेटिका जम्मा गरी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मतगणना गरिने आयोगले जनाएको छ ।

आगामी फागुन २० गतेदेखि रिक्त हुने १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फ एक पदमा निर्विरोध भएको थियो । त्यहाँ उम्मेद्वार नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका हुन् ।

बाँकी १७ पदको मतदानका लागि सातै प्रदेशका राजधानीस्थित तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो ।

प्रकाशित मिति: आइतबार, माघ ११, २०८२  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update