Harsamaya
नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई महानगरले सम्मान गर्ने
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं- काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको क्षेत्रमा भवन निर्माणसम्बन्धी मापदण्डका विषयमा सर्वाेच्च अदालतको आदेश र निर्णयलाई आफूहरूले सम्मान गर्ने बताएकी छन्।

उपत्यकाका १९ वटा नदी सङ्घर्ष समितिका पदाधिकारीसँग आज यहाँ भएको भेटमा उनले अदालतको सम्मान गर्दै काठमाडौँ महानगरपालिकाले नदीको दायाँबायाँ क्षेत्रमा भवन निर्माणका लागि लगाएको रोक्का फुकुवाको सार्वजनिक सूचना जारी गरेको बताइन्।

सर्वाेच्च अदालतको यही माघ ४ गते नदीको दायाँबायाँ क्षेत्रमा भवन निर्माणसम्बन्धी मापदण्डका विषयमा भएको आदेश र काठमाडौँ महानगरपालिकाले गरेको निर्माण रोक्का फुकुवाप्रति आभार व्यक्त गर्न आएका समितिका पदाधिकारीसँग कार्यवाहक प्रमुख डङ्गोलले यहाँका बासिन्दालाई विस्थापित गराउनेभन्दा पनि उनीहरूको मागको सम्बोधन गर्दै सबै अघि बढ्नुपर्नेमा जोड दिइन्।

उनले नदीको छेउमा रहेका उपत्यकावासीले विभिन्न समयमा अदालतमा गएर, सडकबाट, विभिन्न कार्यालयमा गएर एकता र सहकार्यका साथ आफ्ना समस्या बुलन्द आवाजमा उठाइरहनुभएकामा सबैप्रति धन्यवाद व्यक्त गरिन्। ‘यहाँका बसिन्दालाई विस्थापित गराउने नभई जायज माग सम्बोधन गर्दै अघि बढ्नुपर्छ‚’ उनले भनिन्‚‘अन्योल र अनिर्णयका समयमा तपाईंहरूबीचको सहकार्य, समन्वय र एकताले पाएको निरन्तरताको प्रशंसा गर्दछु । तपाईंहरूले संवेदनशील समयमा देखाउनुभएको संयमतालाई पनि धन्यवाद ।’

कार्यवाहक प्रमुख डङ्गोलसँगको भेटपछि नदी सरोकार सङ्घर्ष समितिका संयोजक ऋषि बस्यालले डङ्गोललाई कार्यवाहक प्रमुखको जिम्मेवारी प्राप्त गरेकामा बधाई ज्ञापन गरे।उनले यहाँका नागरिकको रक्षा गर्न र नगरवासीका समस्या समाधानमा निरन्तर लाग्न आग्रह गरे।

प्रकाशित मिति: शनिबार, माघ १०, २०८२  २१:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update