Harsamaya
सुनसरी १ मा एमालेबाट टिकाराम लिम्बू चुनावी मैदानमा
विद्यार्थी राजनीतिबाट संगठित पार्टी राजनीतिसम्मको लामो अनुभव बोकेका नेता टीका माङ्लेन लिम्बू (टिकाराम लिम्बू) ।

सुनसरी - विद्यार्थी राजनीतिबाट संगठित पार्टी राजनीतिसम्मको लामो अनुभव बोकेका नेता टीका माङ्लेन लिम्बू (टिकाराम लिम्बू) लाई नेकपा (एमाले) सुनसरी क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनाएको छ ।

वि.सं. २०४१ भदौ २१ गते ताप्लेजुङ जिल्लाको मामाङ्खे (हाल श्रीजंघा–६) मा जन्मिनुभएका लिम्बू हाल धरान उपमहानगरपालिका–१०, सेवालुङ चोकमा स्थायी रूपमा बसोबास गर्दै आएका छन् ।

शैक्षिक रूपमा स्नातकोत्तर तहमा राजनीति शास्त्र र स्नातक तहमा कानुन (एलएलबी) अध्ययन गरेका लिम्बू विद्यार्थी राजनीतिमा सक्रिय रहँदै नेतृत्वमा स्थापित भएका हुन् ।

उनले २०५६ सालमा ताप्लेजुङको सिनाम माध्यमिक विद्यालयमा कक्षा ९ पढ्दादेखि अनेरास्ववियुमा आबद्ध भई राजनीतिक यात्रा सुरु गरेका थिए । त्यसपछि २०५८ सालमा महेन्द्र क्याम्पस, इलाम हुँदै धरानस्थित महेन्द्र क्याम्पसमा सक्रिय रहे ।

२०६० सालमा क्याम्पस कमिटी सदस्य बनेका लिम्बू २०६३ र २०६५ मा लगातार दुई कार्यकाल महेन्द्र क्याम्पस धरानको क्याम्पस कमिटी अध्यक्ष निर्वाचित भए । २०६२ सालमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सदस्य रहेका उनी २०६७ सालमा अनेरास्ववियु सुनसरी जिल्ला कमिटी अध्यक्ष र २०६९ सालमा अनेरास्ववियु केन्द्रीय सदस्यको जिम्मेवारीमा रहे ।

पार्टी राजनीतिमा २०६४ सालदेखि नेकपा (एमाले) का संगठित सदस्य रहेका लिम्बूले सोही वर्ष धरान–१० को वडा सचिवको जिम्मेवारी सम्हाले । त्यसपछि २०६५ सालमा धरान नगर कमिटी सदस्य तथा २०६८ सालमा सचिवालय सदस्य भए ।

२०७७ सालमा जिल्ला कमिटी सदस्य बनेका उनी २०७८ को सातौँ र २०८१ को आठौँ जिल्ला अधिवेशनबाट सुनसरी जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका थिए ।

राजनीतिसँगै सामाजिक र स्वयंसेवी अभियानमा समेत सक्रिय रहेका लिम्बू २०७२ सालको भूकम्पपछि पुनर्निर्माण अभियान तथा २०७३ सालको मेची–महाकाली अभियानमा राष्ट्रिय स्वयंसेवकका रूपमा खटिएका थिए ।

उनी लिम्बू विद्यार्थी मञ्चका केन्द्रीय सदस्य, किरात याक्थुङ चुम्लुङका सदस्य, ताप्लेजुङ–सुनसरी सरोकार समाज र नेपाल रेडक्रस सोसाइटीका आजीवन सदस्यसमेत रहेका छन् ।

प्रकाशित मिति: शनिबार, माघ १०, २०८२  १४:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update