Harsamaya
प्रतिनिधिसभा निर्वाचन : आज उम्मेदवारको अन्तिम टुङ्गो, दिउँसो ३ बजे नामावली सार्वजनिक
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं- प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज फिर्ता लिन पाउने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ बजेसम्म आफ्नो नाम फिर्ता लिन सक्नेछन्।

निर्वाचन कार्य तालिकाअनुसार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ । त्यसपछि दिउँसो १ देखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ भने अपराह्न ४ देखि साँझ ७ बजेसम्म निर्वाचन चिह्न वितरण गरिने आयोगले जनाएको छ ।

पहिलो हुने निर्वाचित प्रणालीअन्तर्गत माघ ७ गते दाबी–विरोधमा उजुरी दिने र उजुरीमाथि जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन गरिएको थियो।

देशभरका १६५ निर्वाचन क्षेत्रमा कुल ३ हजार ४८६ उम्मेदवारी दर्ता भएका छन्। तीमध्ये ३ हजार ८९ पुरुष, ३९६ महिला तथा अन्य एक जना उम्मेदवार रहेका छन्। माघ ६ गते देशभर एकै पटक मनोनयन पत्र दर्ता गरिएको थियो ।

प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गते हुँदै छ । २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचन प्रणाली र ११० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन्।

प्रकाशित मिति: शुक्रबार, माघ ९, २०८२  ०७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update