Harsamaya
बागलुङका ५५ मतदानस्थल अति संवेदनशील
फाइल तस्वीरः हर समय/harsamaya

गलकोट- बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा ५० प्रतिशतभन्दा बढी मतदानस्थल अति संवेदनशील रहेको पाइएको छ । 

दुई निर्वाचन क्षेत्र रहेको बागलुङमा रहेका १०७ मतदानस्थलमध्ये जिल्ला सुरक्षा समितिले गरेको अनुगमनका आधारमा ५५ मतदानस्थल अति संवेदनशील रहेको पाइएको छ । बागलुङमा कायम भएका १०७ मतदानस्थलमध्ये ५५ अति संवेदनशील, २४ संवेदनशील र २८ सामान्य रहेको जिल्ला सुरक्षा समितिका संयोजक एवं बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए। 

बागलुङमा प्रतिनिधिसभाको निर्वाचनमा १०७ मतदानस्थल र २३० मतदान केन्द्र कायम गरिएको छ । जसमध्ये सुरक्षा संवेदनशिलता, मतदाताको सङ्ख्या, भौगोलिक विकटता, सडकको पहुँच, मतदानस्थलको पूर्वाधार र यस अघिका निर्वाचनको गतिविधिका आधारमा अति संवेदनशील, संवेदनशील र सामान्य गरी मतदानस्थललाई वर्गीकरण गरेर सुरक्षा व्यवस्था मिलाइएको प्रजिअ आचार्यले जानकारी दिए।

निर्वाचनको समयमा सर्वसाधारणलाई असुरक्षित महसुस हुन नदिन जिल्ला सुरक्षा समिति र जिल्लाका सुरक्षा निकायले सबै  तयारी गरिरहेको उनको भनाइ छ । निर्वाचनमा निर्वाचन प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र आवश्यक स्थानमा नेपाली सेनाले सुरक्षा दिने तयारी भइरहेको छ ।  यातायातका साधनको सरल पहुँच नभएको मतदानस्थलमा बैकल्पिक सुरक्षा व्यवस्था, यातयातको साधन लगायको व्यवस्था समेतमा थप ध्यान दिने प्रजिअ आचार्यले बताए। 

यस पटकको निर्वाचनमा एक मतदानस्थल थप तथा  र एक मतदान केन्द्र घटाएर १०७ मतदानस्थल र २३० मतदान केन्द्र कायम गरिएको हो । यस्तै दुई मतदानस्थललाई स्थानान्तरण गरिएको छ । 

बागलुङमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कूल एक लाख ९३ हजार ३८१ मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ९४ हजार ८०६ पुरुष र ९८ हजार ५७४ महिला मतदाता छन् ।

प्रकाशित मिति: बिहीबार, माघ ८, २०८२  २१:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update