काठमाडौं - माघ १० गते शनिवारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएको छ । आज काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा बसेको बैठकले १९९७ सालमा प्राण दण्ड पाएका सहिदहरूले सहादत प्राप्त गरेको दिन र स्थानमा श्रद्धाञ्जली सभा गर्ने तथा १६ गते लैनचौर सहिद स्मारक पार्कमा ज्ञात अज्ञात सबै सहिदहरूको सम्झनामा स्मृति सभा गर्ने निर्णय गरेको हो ।
१९९७ मा प्राण दण्ड पाएका ४ जना सहिदले माफी मागेर शासकसामु झुक्नुभन्दा प्रजातन्त्रका लागि ज्यान सजाय स्वीकार गरेका थिए । त्यसपछिका विभिन्न राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने सहितको योगदान स्मरण गर्ने तथा सम्मान गर्नु सप्ताहव्यापी कार्यक्रम आयोजनाको उद्देश्य हो ।
नागरिक स्वतन्त्रताका लागि यसरी सहादत प्राप्त गर्ने ज्ञात अज्ञात सहिदहरूको सम्झनामा हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्मलाई सहिद सप्ताहका रूपमा मनाइँदै आएको छ । वि. सं. २०१२ सालदेखि विद्यमान महानगरको संयोजकत्व गठित समितिले सहिद सप्ताहका कार्यक्रम आयोजना गर्दै आएको छ ।
बैठकमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, वडाध्यक्ष ईश्वरमान डङ्गोल, नेपाली सेनाको समारोह सञ्चालन निर्देशनालयका प्रमुख सेनानी धिरन अधिकारी, काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी उपरीक्षक बाल नरसिंह राणा, सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयका सशस्त्र प्रहरी उपरीक्षक श्यामकुमार कार्की, जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत सुजनकुमारी वर्देवा अधिकारीहरू उपस्थित थिए। यस्तै प्रशासन विभाग, महानगर प्रहरी बलका अधिकारीसहितको उपस्थिति थियो ।
सहिद सप्ताहको पहिलो दिन माघ १० गते टेकु पचली, १३ गते सिफल उकालो र १५ गते शोभा भगवतीमा कार्यक्रम हुनेछ । यस्तै माघ १६ गते शान्ति बाटिकाबाट प्रभात फेरी गर्दै लैनचौरमा पुगेर सहिद स्तम्भमा सभा हुनेछ । त्यस अवसरमा प्रधानमन्त्री, मन्त्रीसहित विशिष्ट व्यक्तिहरू स्मृति सभाका लागि भेला हुनेछन् । यी कार्यक्रम आयोजना हुने स्थलसँग सम्बन्धित वडालाई कार्यक्रम सञ्चालन व्यवस्थापनको जिम्मेवारी दिइएको छ ।
वि. सं. १९९७ साल माघ ७ गते सिंहदरबारमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्धशमसेर सहितको इजलासले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधान गरी ५ जनालाई सर्वस्वसहित ज्यान सजायको फैसला सुनाइएको थियो । पछि पूर्णनारायणको सजायलाई आजन्म कैदमा परिवर्तन गरियो । प्राण दण्ड हुनसक्छ भन्ने जान्दाजान्दै नागरिक स्वतन्त्रताका पक्षमा निर्भीक भएर आवाज उठाउने शास्त्री, माथेमा, श्रेष्ठ र चन्दले मृत्युदण्ड पाएपछि उनीहरूको सपना स्मरण गर्दै सहिद दिवस मनाउने गरिएको हो ।

