Harsamaya
हुस्सुले तराई ढाक्ने सम्भावना, पहाड–हिमालमा आंशिक बदली
तराईका केही स्थानमा हुस्सु । प्रतिकात्मक तस्वीर: हर समय/ Har Samaya

काठमाडौँ - देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले आज मौसममा मिश्रित अवस्था देखिने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना छ भने बिहान र बेलुकाको समयमा बाक्लो हुस्सु तथा कुहिरो देखिन सक्छ ।

महाशाखाले कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने जनाएको छ। यी क्षेत्रबाहेक देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ ।

तराई क्षेत्रमा हुस्सु र कुहिरोका कारण दृश्यता घट्न सक्ने भएकाले हवाई सेवामा ढिलाइ हुनसक्ने महाशाखाले जनाएको छ। विशेषगरी तराईका विभिन्न विमानस्थलहरूमा उडान तथा अवतरणमा अवरोध आउने सम्भावना रहेको छ ।

यस्तै, लामो तथा छोटो दूरीका सवारी साधनका चालकलाई पनि सतर्कता अपनाउन अनुरोध गरिएको छ। कुहिरोका कारण सडक दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले सावधानीपूर्वक यात्रा गर्न महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति: बुधबार, माघ ७, २०८२  ०६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update