काठमाडौं - भारत सरकारले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेपाल सरकारलाई ६१ वटा यातायातका साधन हस्तान्तरण गरेको छ ।
मंगलबार सिंहदरबारमा आयोजित एक कार्यक्रमका बीच भारतीय दूतावासले ६१ वटा क्याबिन पिक भ्यान सकारलाई हस्तान्तरण गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले जानकारी दिए ।
उनको अनुसार भारतले आसन्न निर्वाचलाई मध्यनजरगरी विभिन्न प्रकारका ५३८ वटा गाडि सहयोग गर्दैछ भने आज पहिलो चरणमा ६१ वटा गाडी हस्तान्तरण गरेको हो ।
उनले भने ,‘भारत सरकारबाट प्राप्त हुने गाडीहरुको आज पहिलो चरणको हस्तान्तरण भएको छ । आज ६१ वटा गाडी हस्तान्तरण भएको छ । विभिन्न प्रकारका ५३८ वटा गाडी भारत सरकारले निर्वाचनलाई मध्यनजर गरेर सुरक्षा निकायलाई प्राप्त हुँदैछ ।’
त्यस्तै उनले सरकारले आफ्नो नियमित बजेटबाट पनि गाडी खरिदको काम अन्तिम चरणमा पुर्याएको बताए । निर्वाचन आयोग, सुरक्षा निकाय र जिल्ला प्रशासनहरुमा आवश्यक्ता अनुसार वितरण गरिने उनले जानकारी दिए ।
‘जेनजी आन्दोलनपछि सुरक्षा निकायमा सवारी साधनको कमी थियो । सरकारले आफ्नो नियमित बजेटबाट पनि खरिदको अन्तिम चरणमा पुगेको छ भने निर्वाचन आयोग, सुरक्षा निकाय ,जिल्ला प्रशासनहरुमा आवश्कताको अनुसार वितरण गर्ने छौं ’उनले भने ।
गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत निर्वाचन प्रयोजनका लागि वस्तुगत सहायताअन्तर्गत भारत सरकारसँग गाडी माग गरेको थियो ।

