Harsamaya
मनोनयन दर्ताको दिनसम्म काँग्रेसले टिकट बाँड्न सकेन, परिवारवादमै रमाए थापा पनि
सभापति गगन कुमार थापा, कान्छा ससुरा जगदीश्वर नरसिंह केसी र ससुरा अर्जुन नरसिंह केसी।

काठमाडौं - निर्वाचन आयोगले मङ्गलवार उम्मेदवार मनोनयनका लागि समय तोके पनि नेपाली काँग्रेसले अझै उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन । सभापति गगन कुमार थापालगायतका नेताहरू बुढानीलकण्ठको पार्क भिलेज रिसोर्टबाट टिकट वितरण गरिरहेका छन् ।तर पनि हालसम्म १६५ क्षेत्रकै उम्मेदवार टुङ्गो लगाउन सकेका छैनन् ।

अन्य दलहरू उम्मेदवार टुङ्गो लगाएर मनोनयन दर्ताका लागि देशभर पुग्दा काँग्रेस भने अलमलमा परेको छ । विशेष महाधिवेशनबाट नेतृत्वमा स्थापित भएका थापाले टिकट वितरणमा पनि विशेषलाई प्राथमिकता दिएका छन् ।

जिल्लाबाट आएका नामभन्दा बाहिरका उम्मेदवारहरूले समेत टिकट पाएका छन् । कालिकोटबाट युवा नेता भूपेन्द्र जङ्ग शाहीको एकल उम्मेदवारी सिफारिस भए पनि त्यहाँ उनले टिकट पाएनन् । त्यहाँबाट हर्ष बहादुर बमले टिकट पाएका छन् । परिवारवाद टाढा रहने भन्ने मिठो नारा बोकेका सभापति थापा र उपसभापति विश्व प्रकाश शर्माको नारा पनि नfरामै सीमित छ ।

उनीहरूले काभ्रे-२ बाट मधु आचार्य र नुवाकोट-१ बाट जगदीश्वर नरसिंह केसीलाई टिकट दिएर नारा केवल नारा हो भन्ने प्रमाणित गरेका छन् । मधुकी श्रीमती कमला पन्त राष्ट्रिय सभा सांसद हुन भने जगदीश्वर नरसिंह केसी थापाका कान्छा ससुरा हुन् । आफ्नै ससुरा अर्जुन नरसिंह केसीलाई समानुपातिकमा हालेका थापाले कान्छा ससुरालाई प्रत्यक्षको उम्मेदवार बनाएका छन् । यसै गरी थापाको केन्द्रीय सदस्यमा पनि अर्जुन नरसिंह र केदार नरसिंह केन्द्रीय सदस्य छन् ।

सभापति शेरबहादुर देउवा र काँग्रेस वरिष्ठ नेता डा शेखर कोइरालासँग कुनै छलफलविना बाँडिएको टिकटले काँग्रेसले कस्तो परिणाम ल्याउँछ हेर्न बाँकी छ । अर्कोतर्फ काँग्रेस आधिकारिकताका लागि सर्वोच्चमा परेको रिटले पनि निर्वाचनमा परिणाममा असर पर्ने देखिन्छ ।

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  ०७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update