Harsamaya
सोनाम ल्होसारले एकता र परस्पर सम्मानको मूल्यलाई अझ वृद्धि गर्छ : उपराष्ट्रपति
उपराष्ट्रपति राम सहाय प्रसाद यादव ।

काठमाडौं - उपराष्ट्रपति राम सहाय प्रसाद यादवले सोनाम ल्होसारले नेपालको संविधानले अङ्गीकार गरेको गणतन्त्र, सङ्घीयता, समानता, समावेशिता, धर्मनिरपेक्षता र कानुनी राज्यका आधारभूत मूल्यहरूलाई अझ सुदृढ बनाउन सहयोग पुग्ने बताएका छन् ।

सोमबार सोनाम ल्होसारको शुभकामना सन्देश दिँदै उनले बहु जातीय, बहुभाषिक, बहु धार्मिक, बहु सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरेको देशलाई एकताको सूत्रमा बाँध्दै राष्ट्रिय अखण्डता र सार्वभौमिकतालाई बलियो बनाउने सामर्थ्य यस्ता पर्वहरूमा रहेको बताए ।

उनले भने, ‘नेपालको संविधानले अङ्गीकार गरेको गणतन्त्र, सङ्घीयता, समानता, समावेशिता, धर्मनिरपेक्षता र कानुनी राज्यका आधारभूत मूल्यहरूलाई यस पर्वले अझ सुदृढ बनाउन सहयोग पुर्‍याउँछ । बहु जातीय, बहुभाषिक, बहु धार्मिक, बहु सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरेको हाम्रो देशलाई एकताको सूत्रमा बाँध्दै राष्ट्रिय अखण्डता र सार्वभौमिकतालाई बलियो बनाउने सामर्थ्य हाम्रा पर्वहरूमा निहित छन् ।’

सामूहिकता, भूमि पूजा, कूल पूजा, दान दक्षिणा, ढोग भेट तथा शुभकामना आदानप्रदानजस्ता परम्परागत अभ्यासहरूले सामाजिक सद्भाव, आपसी विश्वास र सहकार्यलाई अझ मजबुत बनाउने पनि उनको विश्वास रहेको छ । साथै, सोनाम ल्होसारमा प्रदर्शन गरिने मौलिक नृत्य, गीत, वाद्यसंगीत तथा परम्परागत परिकारहरूले सांस्कृतिक धरोहरलाई जीवन्त राख्दै राष्ट्रिय पहिचानलाई उजागर गर्ने कार्य गर्ने भन्दै यस पर्वले विविधताभित्रको एकता, सहिष्णुता र परस्पर सम्मानको मूल्यलाई आत्मसात् गर्न प्रेरित गर्ने बताए ।

उनले सोनाम ल्होसारले सम्पूर्ण नेपालीलाई सामाजिक सद्भाव, मैत्री भाव, भाइचारा, मेलमिलाप र परस्पर सहयोगका लागि अभिप्रेरित गर्दै मुलुकलाई शान्ति, प्रगति र समृद्धितर्फ उन्मुख गराओस् भन्ने शुभकामना पनि व्यक्त गरेका छन् ।

प्रकाशित मिति: सोमबार, माघ ५, २०८२  ०८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update