काठमाडौं- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले फागुन २१ को आम निर्वाचनमा गोरखा–२ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले प्रगतिशील लोकतान्त्रिक पार्टीको चुनाव चिन्ह ‘खुलेको आँखा’ लिएर निर्वाचनमा होमिने निर्णय गरेको बताए ।
सामाजिक सञ्जालमार्फत उनले आइतबार सार्वजनिक गरेको घोषणामा गोरखा–२ का पार्टीसाथीहरू, आम मतदाता तथा अन्य दलभित्रका शुभचिन्तकहरूको जोडबलका कारण उम्मेदवारी दिने निर्णयमा पुगेको उल्लेख गरेका छन्। साथै देशको अन्योलपूर्ण राजनीतिक अवस्थाले सिर्जना गरेको राष्ट्रिय दायित्वबोधलाई पनि आफ्नो निर्णयको प्रमुख आधारका रूपमा प्रस्तुत गरेका छन्।
‘गोरखा–२ का पार्टीसाथीहरू, आम मतदाता, अन्य दलभित्रका समेत शुभचिन्तकहरूको जोडबल र देशको अन्योलपूर्ण राजनीतिक अवस्थाले सिर्जना गरेको राष्ट्रिय दायित्वबोधलाई ध्यान दिँदै आगामी आम निर्वाचनमा गोरखा–२ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीको चुनावचिन्ह ‘खुलेको आँखा’ लिएर उम्मेदवारी दिने निर्णयमा पुगेको छु,’ भट्टराईले उल्लेख गरेका छन्।
भट्टराईको यो घोषणासँगै गोरखा-२ को राजनीतिक प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ । सोही क्षेत्रमा नेकपाबाट लेखनाथ न्यौपाने उम्मेदवार छन् ।

