Harsamaya
‘हर समय’ को पहिलो वर्ष : सत्य, निरन्तरता र उत्तरदायित्वको यात्राको एक वर्ष
प्रकाशकीय ।

‘सत्य समयमै’भन्ने मूल मन्त्रसहित सुरु गरिएको अनलाइन समाचारमाध्यम harsamaya.comले आज आफ्नो पहिलो वर्ष पूरा गरेको छ । डि एण्ड डि मिडिया अन्तर्गत सञ्चालनमा आएको यो न्यूज पोर्टलले छोटो समयमै पाठकको विश्वास जित्दै सत्य, तटस्थ र जिम्मेवार पत्रकारिताको अभ्यासलाई आफ्नो पहिचान बनाएको छ ।

सुरुवाती चरण सहज थिएन । सूचनाको बाढी, स्रोतको सीमितता, निरन्तरताको चुनौती र आम पाठकको विश्वास जित्ने कठिन यात्राबीच हर समय डटकमले पत्रकारितालाई व्यवसायभन्दा अघि उत्तरदायित्वको रूपमा स्वीकार गर्दै अगाडि बढ्ने निर्णय गर्‍यो । यही निर्णय बमोजिम आज पहिलो वर्षसम्म आइपुग्दा संस्थाको सबल आधार बनेको छ ।

नेपालमा हजारौँ अनलाइन सञ्चारमाध्यमहरू सञ्चालनमा छन् । सबैका आ-आफ्नै उद्देश्य र लक्ष्य भएपनि आम नागरिकलाई सुसूचित गराउनु नै पत्रकारिताको साझा धर्म हो । यस्तै प्रतिस्पर्धात्मक परिवेशबीच पनि हरसमय डटकमले सत्य, तथ्य र तटस्थतामा सम्झौता नगर्ने नीति अवलम्बन गर्दै समाचार सम्प्रेषण गर्दै आएको छ ।

पछिल्लो समय मिडियामा सूचनाको बाढी नै आएको छ । कुन सही, कुन गलत आम पाठक र दर्शकले छुट्याउनै नसक्ने अवस्था छ । विश्वासिला मानिएका सञ्चारमाध्यमहरूसमेत बेला बखत सत्य र निश्पक्षताको कसीमा चिप्लिएका धेरै उदाहरणहरू छन् । आफ्नो विचारधारासँग मिल्नेहरूलाई माया गर्ने र नमिल्ने माथि घृणाका शब्दहरू ओकल्ने काम मिडियाले नै गर्दै आएका छन् । त्यसलाई निरपेक्ष राखेर हामीले सत्य समाचारहरू यहाँहरूमाझ पस्किन सकेकोमा गौरवान्वित महसुस गरेका छौं । 

समाचार लेखनसँगै नयाँ मिडियाको स्वरूपलाई आत्मसात् गर्दै भिडियो सामग्रीमार्फत अर्थात् मल्डीमिडियाको स्वरुप पनि दर्शकमाझ पुग्न सफल हुनु यस माध्यमको अर्को महत्वपूर्ण उपलब्धि हो । डिजिटल युगमा पाठकको बदलिँदो रुचिलाई ध्यानमा राख्दै दृश्य र श्रव्य सामग्रीलाई समेत सशक्त बनाउने प्रयास निरन्तर जारी छ । भ्यूजको पछि लागेर जेलाई पनि समाचार र पत्रकारिता भन्ने परिभाषितबाट हामी दूर छौं । भलै हाम्रा नियमित दर्शक र पाठक थोरै होलान् तर यहाँहरूले दिनुभएको थोरै माया पनि अपार भएको छ । हामी पुलंकित भएका छौं ।

हर समय डटकममा प्रकाशित प्रत्येक समाचार, सम्पादकीय र प्रसारण जनताको जीवन, समाजको दिशा र राष्ट्रको भविष्यसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ भन्ने कुरामा सम्पादकीय टिम पूर्ण रूपमा सचेत छ । जनताको भरोसा, समाजको अपेक्षा र राष्ट्रको हितलाई सधैं सम्पादकीय नेतृत्वको केन्द्रमा राख्दै पत्रकारिताको अभ्यास गरिँदै आएको छ ।

पहिलो वर्षको यात्रामा पाठक, शुभचिन्तक, विज्ञापनदाता, संवाददाता तथा सम्पूर्ण सहकर्मीहरूको साथ, माया र विश्वास नै सबैभन्दा ठूलो शक्ति बनेको छ । समाजका लागि तिलको गेडा बराबर योगदान गर्न पाउनु पनि हर समय डटकमका लागि गर्वको विषय हो ।

आगामी दिनमा यो माध्यम अझ परिपक्व, प्रभावकारी र उत्तरदायी बन्दै तपाईंको हर पलको साथी भएर सत्यको पक्षमा दृढतापूर्वक उभिरहने प्रतिबद्धता व्यक्त गर्दछ ।

पहिलो वार्षिकोत्सवको यस अवसरमा हर समय डट कमलाई  साथ, विश्वास र शुभेच्छा प्रदान गर्नुहुने सम्पूर्ण पाठकवर्गप्रति हार्दिक आभार व्यक्त गर्दछ र यही साथको निरन्तरताको अपेक्षा गर्दछ ।

दुर्गा आचार्य
अध्यक्ष, डि एण्ड डि मिडिया प्रा.लि.

प्रकाशित मिति: शनिबार, माघ ३, २०८२  ०७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update