काठमाडौं - उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जनताको ठूलो लहर र विश्वासकासाथ अगाडि बढेको पार्टी १२ दिनसम्म कोमामा बस्नुपरेको बताएका छन् ।
शुक्रबार पार्टीले आयोजना गरेको उज्यालो जम्काभेट कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपासँगको एकतालाई लक्षित गर्र्दै १२ दिनसम्म अध्यारो सुरुङमा बसेको पार्टी अहिले झन् सफा, सुद्द र उर्जाशिल भएर निस्केको बताए ।
उनले भने,‘उज्यालो पार्टी गठन भएको एकदमै छोटो समयमा धेरै अगाडि बढेको अवस्था थियो । जनताको ठूलो लहर र ठूलो विश्वासकासाथ अगाडि बढेको पार्टी करिब १२ दिनको कोमामा बस्नुपर्यो । १२ दिन हामी एउटा अध्यारो सुरुङभित्र छिर्नुपर्ने अवस्था आयो । त्यो अध्यारो सुरुङभित्र १२ दिनसम्म बस्दा हामीले धेरै ठूलो क्षति व्यहोर्न पर्यो । आज त्यो हिलोबाट हामी सफा, शुद्ध र उर्जाशिल भएर निस्केका छौं । ’
त्यस्तै उनले आफूहरुलाई षड्यन्त्रपूर्वक ढंगले समानुपातिक उम्मेद्वारसम्म राख्न बन्चित गराइएको आरोप लगाए । २० देखि २५ लाख समानुपातिक मत आउने दाबी गर्दै उनले उम्मेद्वारी दर्ता गर्न पाउने व्यवस्थाको लागि माग गरे ।
‘हामीलाई षड्यन्त्रपूर्वक ढंगले जुन हिसाबले हामीलाई भर्खर जन्मेको पार्टीले समानुपातिक उम्मेद्वारसम्म राख्न बन्चित गाराइयो । त्यो हाम्रो गम्भीर आपत्तिको विषय छ । अहिले पनि हामी माग गर्छौं, उम्मेद्वारी दर्ता गर्न दिनुपर्छ । यसमा जोडदार माग गर्छु । हामीलाई उम्मेद्वारी दर्ता गर्न नदिने हो भने आगामी दिनमा आन्दोलन पनि गर्नेछौं । हाम्रो २० देखि २५ लाख समानुपातिक मत आउँछ भन्ने आँकलन छ ।’
त्यस्तै अध्यक्ष घिसिङले अब उज्यालो नेपाल पार्टी कहिल्यै पनि नझुक्ने दाबी गरे । पार्टीलाई देशकै नम्बर वान बनाउने बताउँदै उनले विश्वासिलो पार्टीको रुपमा उभिने पनि विश्वास व्यक्त गरे ।
उनले भने,‘अब उज्यालो नेपाल पार्टी कहिल्यै पनि झुक्दैन । कहिल्यै कुनै पार्टीसँग एकीकरण र मर्जर भन्ने हुँदैन । तर हाम्रो पार्टीसँग आवद्ध हुन आउँछ भने आव्हान गछौं । यो पार्टीलाई देशकै नम्बर वान बनाउने छौं । उज्यालो नेपाल पार्टी एउटा विश्वासिलो पार्टीको रुपमा उभिने छ ।’

