Harsamaya
पार्टी फुट्ने भन्दै हस्ताक्षर फिर्ता लिएका ८८५ जनाको हस्ताक्षर आयोगमा बुझाइयो
हस्ताक्षर फिर्ता गरेकाहरूको कागजात बुझाउँदै काँग्रेस कार्यवाहक सभापति पूर्ण बहादुर खड्का ।

काठमाडौं - नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनमा सहभागी रहने भनिएका ८८५ हस्ताक्षरकर्ता विशेष महाधिवेशनबाट बाहिरिएको बताएका छन् । 

शुक्रबार निर्वाचन आयोगमा विशेष महाधिवेशनबाट पार्टी फुट्ने भन्दै हस्ताक्षर फिर्ता लिएका ८८५ जनाको हस्ताक्षर फिर्ताको प्रमाण बुझाउन गएका बेला उनले यस्तो बताएका हुन् । 

खड्काले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन गरेको भनिएको भए पनि ८८५ हस्ताक्षर कर्ताले हस्ताक्षर फिर्ता लिएको बताए । हस्ताक्षर फिर्ता लिएको प्रमाण आयोगका निमित प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई बुझाइएको हो ।  

विशेष महाधिवेशन भेलाभन्दा पहिला र पछिको हस्ताक्षर आफूसँग रहेको उनको भनाइ छ । गगन थापा नेतृत्वले २४६४ जनाको हस्ताक्षर संकलन गरी विशेष महाधिवेशन डाकिएको दाबी गरेपनि ८८५ को फिर्तासँगै उनीहरूसँग १५७९ जनाको हस्ताक्षर हुनेछ । ती हस्ताक्षरले मात्रै गरेको विशेष महाधिवेशन आधिकारिकता हुने कि नहुने आयोगले निरुपण गर्ने नै छ । 

६२ प्रतिशत महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी भएपनि तीबारे आधिकारिक रेकर्ड कतै सार्वजनिक गरिएको छैन । ५ दिनसम्म चलेको विशेष महाधिवेशनले निर्वाचनतर्फ नगई सर्वसम्मत नेतृत्व चयन गरिएको थियो । काँग्रेसको इतिहासमा सर्वसम्मत नेतृत्व गरेको कुनै इतिहास छैन ।

गगन थापा नेतृत्वको नेपाली कांग्रेसले विशेष महाधिवेशनबाट केन्द्रीय कार्यसमिति चयन गरेर आधिकारिता दाबी गर्न बिहीबार निर्वाचन आयोग गएको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, माघ २, २०८२  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update