काठमाडौं - नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले पार्टीलाई दुर्घटना सम्म पुग्ने अवस्था आउन नदिन आफूहरू संवादमा जुटेको बताएका छन् ।
बिहीबार बिहान सभापति देउवालाई नेता डा शेखर कोइरालासँग गएर भेटेका उनले आफूहरूले पार्टीलाई एकतावद्ध बनाउन सबैले भुमिका निर्वाह गर्नुपर्ने पक्षमा कुरा राखेको जानकारी दिए। विशेष महाधिवेशनको नाममा ‘साथीहरू’ पार्टीलाई अप्ठ्यारो स्थितीमा पुर्याउने काममा नपुगुन् भनेर आफूहरूले सभापति देउवालाई सम्झाएको पनि उनले बताए।
‘सबैको कुरा बुझ्नुपर्यो । सभापतिज्यूको पनि कुरा बुझ्नुपर्यो भनेर हामी गएका हौं,’ उनले भने, ‘कसैलाई अपमानित नहोस् पार्टी एक बनोस् रहोस् भन्ने हाम्रो प्रयत्न हो।’
उनले पार्टीमा जिम्मेवारी महसुस गरेर कसैलाई अपमान नहोस् भनेर पार्टीलाई सहि दिशाबाट अघी बढाउने प्रयत्नमा आफूहरू लागि परेको बताए।
‘हामी कसैको पक्षमा भयानक पक्षपोषण गर्न पनि गएको हैन। पार्टीमा दुर्घटनामा हुन नदिने प्रयत्न हो,’ रिजालले भने, ‘सबैलाई भेटेर पार्टीलाई दुर्घटनामा नलैजाऊ भनेर हामीले सबैलाई सुझाव र अनुरोध गरेका हौं।’
बिहीबार बिहान सभापति देउवाकोमा पुगेर नेता शेखर र मिनेन्द्रले एक घण्टा बढी छलफल र संवाद गरेका थिए।

