Harsamaya
माघ ५ गते टुँडिखेलमा ल्होछार महोत्सव, १०१ सदस्यीय मुल समारोह समिति गठन
ग्राफिक्स: हर समय/Har Samaya

काठमाडौं - यस वर्षको सोनाम ल्होछार माघ ५ गते काठमाडौंको टुँडिखेलमा मनाइने भएको छ। नेपाल तामाङ घेदुङको संयोजन र राष्ट्रिय तामाङ घेदुङको सहसंयोजनमा आयोजनामा हुन लागेको ल्होछार महोत्सवका लागि १०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ।

महोत्सवका लागि तयारी शुरु भएको तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले बताए। 'घोडा वर्षको अवसरमा माघ ५ गते तामाङ साँस्कृतिक महोत्सवसहित टुँडिखेलमा ल्होछार मनाउन लागेका छौं,' अध्यक्ष गोलले भने।

डुल ल्हो(सर्प वर्ग) बिदा भएर ता ल्हो(घोडा वर्ग)को स्वागत गर्दै तामाङ समुदायले सोनाम ल्होछार मनाउने गर्छ। यसको प्राविधिक तयारी पुरा भइसकेको राष्ट्रिय घेदुङका अध्यक्ष वीरबहादुर तामाङले बताए। 'प्राविधिक तयारी पुरा भइसकेको छ। यसपटक हामी र्‍याली नगरीकन मनाउने तयारी गरेका छौं,' उनले भने।

यसपटक सोनाम ल्होछार महोत्सवमा प्रधानमन्त्री सुशीला कार्कीलाई प्रमुख अतिथिको रुपमा निम्ता गर्ने तयारी रहेको अध्यक्ष तामाङले बताए। 

यसपटक ल्होछारको नारा 'ह्याङ्ला ग्योअीथेन रिमठिम ह्याङसेन तेन्बा, मन्जुश्री सम्वत - २८६२ ता ल्होला ज्याबाडाज्बा' राखिएको छ। ल्होछार मुल आयोजक समितिले महोत्सव तयारीबारे माघ ३ गते घेदुङको केन्द्रीय कार्यालय बौद्धमा पत्रकार सम्मेलन आयोजना गर्ने जनाएको छ।

प्रकाशित मिति: बुधबार, पुस २३, २०८२  १४:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update