जनकपुर - धनुषाको कमला नगरपालिकामा भएको मस्जिद तोडफोड विवाद देशव्यापी चर्किरहेको बेला जनकपुरधाममा सर्वपक्षीय बैठक बसेर सद्भाव कायम गर्ने निर्णय गरिएको छ ।
मङ्गलवार धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकमा सामाजिक सद्भाव र एकता कायम गर्न सबै पक्षबाट आवश्यक समन्वय, सहयोग र द्वन्द्व न्यूनीकरणका लागि सक्रिय रूपमा लाग्ने निर्णय गरिएको छ । सद्भाव कायम राख्न सम्पूर्ण धर्म, समुदाय, राजनैतिक पार्टीहरूले आ आफ्नो तर्फबाट प्रयास गर्दै कुनै पनि पक्ष वा व्यक्तिले धार्मिक, सामाजिक सद्भावमा खलल पुग्ने कुनै पनि गतिविधि नगर्ने/नगराउने निर्णय गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी लुइँटेलले जानकारी दिए ।
उनले मस्जिद तोडफोड र धार्मिक ग्रन्थ जलाउने कार्यमा संलग्नहरूलाई कानुन बमोजिम कारबाही हुने प्रतिबद्धता जाहेर गरे । लुइँटेलले अपशब्द प्रयोग गरी हिन्दु धर्म प्रति टिप्पणी गरेर टिकटक भिडियो बनाउने माथि पनि कानुन बमोजिम सजाय हुने बताए ।
उनले धनुषाबाट सुरु भएको दुवै समुदायबिचको द्वन्द्व देशभर फैलिसकेकोले अब सबैलाई शान्त हुन आग्रह गरे ।

