काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश पराजुलीले आजको बैठक निर्वाचन केन्द्रित गतिविधिलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफलहरू भएर टुङ्गिएको बताएका छन् ।
मङ्गलवार बसेको केन्द्रीय सचिवालय बैठक पश्चात उनले निर्वाचन केन्द्रित गतिविधिलाई कसरी अगाडि बढाउने र समायोजनको कार्य तुरुन्त टुङ्गाउने गरी कामहरू अगाडि बढाउने विषयमा आजको बैठकमा छलफल भएको बताए । उनले भने, ‘विशेष गरी निर्वाचनसँग केन्द्रित गतिविधिलाई अब कसरी अगाडि बढाउने भन्ने विषयमा धेरै आन्तरिक छलफलहरू भएर बैठक टुगिंएको छ । समायोजन समितिले समायोजनको कार्य तुरुन्त टुङ्गाउने गरी कामहरू अगाडि बढाई रहेको छ । यसको पहिलो बैठक भोली हुन्छ होला ।’
यस्तै, उनले बैठकमा पहिलाको शपथमा मेयरको तर्फबाट छुटेका केही सदस्यहरूको शपथ भएको भन्दै कुलमान घिसिङको तर्फबाट पनि नाम छिटो पठाउन आग्रह गरेको बताए । कुलमान र बालेन पार्टी कार्यालय कहिले आउँछन् भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदै उनले केही प्राविधिक कुराहरू मिलाएपछि पार्टी कार्यालयमा आउने बताए ।
उनले भने, ‘केही प्राविधिक कुरा मिलाउनु पर्ने भएको हुनाले बालेन र कालमानजी यहाँ आइ सक्नु भएको छैन । त्यो प्राविधिक कुराहरू सकाएपछि पार्टी कार्यालयमा नै आउनु हुन्छ ।’

