काठमाडौं - नेपाली कांग्रेसभित्र सबै तहका पार्टी संरचनामा कम्तीमा ४० वर्ष मुनिका युवाहरूको ४० प्रतिशत सहभागिता सुनिश्चित गर्न दबाब सुरु भएको छ। पार्टी राजनीतिमा आबद्ध झापाका ४० मुनिका युवाहरूले मङ्गलवार भेला गर्दै दबाब दिएका हुन्।
मिलन चापागाईँको संयोजनमा झापाको बिर्तामोडस्थित पार्टी कार्यालयमा भएको जिल्ला स्तरीय भेलाले अवधारणा पत्रनै पारित गरेको छ। पार्टी संरचना र राज्य सञ्चालनमा युवाको निर्णायक भूमिका अपरिहार्य रहेको निष्कर्ष निकालेको संयोजक चापागाईँले जानकारी दिए। अवधारणा पत्रमा पार्टीका वडा तहदेखि केन्द्रसम्म ४० प्रतिशत ४० मुनिका युवा प्रतिनिधित्वको व्यवस्था गर्नुपर्ने मात्र होइन तीनै तहका सरकारका लागि उम्मेदवार छनोट गर्दा अनिवार्य रूपमा ‘प्राइमरी इलेक्सन’ प्रणाली लागू गर्नुपर्ने उल्लेख गरिएको छ ।
त्यस्तै, लोकतन्त्रको संरक्षण तथा सुदृढीकरणका लागि सक्रिय भूमिका खेल्ने, भ्रष्टाचारविरुद्ध सङ्गठित खबरदारी गर्ने, पारदर्शिता र जबाफदेहिता बढाउने तथा समसामयिक राजनीतिक विषयमा युवाहरूको साझा धारणा निर्माण गर्ने एजेन्डा समेत अवधारणा पत्रमा समेटिएको छ । भेलामा समसामयिक राजनीतिक अवस्था, पार्टीभित्र देखिएका चुनौती, पुस्तान्तरणको आवश्यकता र युवाको भूमिकाबारे समेत छलफल गरिएको थियो ।
भेलाबाट पारित अवधारणा पत्र जिल्ला कार्यसमितिको तर्फबाट हामीले केन्द्रीय कार्यसमितिलाई बुझाउने तयारी गरेका छौँ,' संयोजक चापागाईँले भने। भेलामा सहभागी युवाहरूले पार्टीलाई अझ जीवन्त, समावेशी र प्रतिस्पर्धी बनाउन युवाको सहभागिता बढाउनुको विकल्प नरहेको विषयमा साझा धारणा समेत निर्माण गरेको चापागाईँले बताए।

