Harsamaya
विशेष महाधिवेशन सहमतिको आधारमा केन्द्रीय समितिले नै आव्हान गर्नु पर्छ - डा. शेखर
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालासँ काँग्रेसका नेता कार्यकर्ताहरू ।

काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशन सहमतिको आधारमा केन्द्रीय समितिले नै आव्हान गर्नु पर्ने बताएका छन् । 

उनले भने, अहिले राष्ट्रिय सभा र प्रतिनिधि सभाको समानुपातिक उम्मेद्वार टुंग्याउनु पर्नेछ । यसकारण विशेष महाधिवेशन पक्षधरहरुसँग छलफल गरेर माघ ६ गतेपछि बेलाउँदा उचित हुने बताए । उनका अनुसार त्यो बेलासम्म राष्ट्रिय सभा तथा प्रतिनिधि सभाको मनोनयनका सबै प्रक्रिया सकिन्छन् । यसरी बोलाउँदा एकताको सन्देश पनि जान्छ । 

आज उनले आफ्नो निजी सचिवालयमा पार्टीका ३० भन्दा बढी केन्द्रीय सदस्यहरुको समूहसँग छलफल गरेका थिए । उक्त भेटमा डा. कोइरालाले सबैको मनोभावना सम्बोधन हुने गरी केन्द्रीय समितिले बिशेष महाधिवेशन डाक्दा सबैलाई मान्य हुने र आफू त्यसमा लागिपरेका समेत बताए । 

उनले फरक प्रसंगमा भने, नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धन गर्न नहुने बताए । गठबन्धनले प्रत्यक्ष निर्वाचनमा दुई चार सिट बढी आउँला तर समानुपातिका मत घट्ने र कांग्रेसलाई दीर्घकालीन हानी हुने बताए । आगामी निर्वाचनमा नेपाली कांग्रेसले एक्लै चुनावमा जानु पर्ने कुरामा आफू स्पष्ट भएको बताए । 

उक्त भेटमा ३० जान केन्द्रीय सदस्यहरुको समूहको तर्फबाट बोल्दै केन्द्रीय सदस्य पुष्पा भुषालले हामीहरु पार्टीभित्र देखिएको विवाद समाधानका लागि शीर्ष नेताहरुसँग भेट गरेको बताइन् । उनले आफूहरु कुनै पक्षको नभएको तर पार्टीभित्रको विवादले चिन्तित बनाए समाधानका लागि सबैसँग पहल गरिरहेको बताइन । उनले मध्यमार्गी बाटो पहिल्याउन डां शेखर कोइरालालाई आग्रह समेत गरेकी छिन् ।

अधिकांश केन्द्रीय सदस्यहरुले विशेष महाधिवेशनलाई चुनावी घोषणा सभाको रुपमा रुपान्तरण गरेर निर्वाचनमा जानु पर्ने जोड दिएका थिए । पार्टीको संस्थापन र विशेष महाधिवेशन पक्षधरको हठले पार्टी चरमा विवादमा फस्दै गएको बताए । उनले दुवैपक्षसँग समन्वय गरी मध्यमार्गी विकल्प पहिल्याउने डा. शेखर कोइरालालाई सामूहिक आग्रह गरेका थिए ।

छलफलमा केन्द्रीय सदस्यहरू - चिनकाजी श्रेष्ठ, डिला संग्रौला, रामजनम चौधरी, उदयशमशेर राणा, अर्जुन जोशी लगायत थिए ।

प्रकाशित मिति: मंगलबार, पुस २२, २०८२  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update