Harsamaya
सुपर खुदी हाइड्रोपावरको आइपिओ आजदेखि निष्कासनमा
ग्राफिक्सः हर समय/harsamaya

काठमाडौं- सुपर खुदी हाइड्रोपावर लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि पहिलो चरणमा आइपिओ निष्कासन गरेको हो ।

कम्पनीले कुल २० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अङ्कित दरका २० लाख कित्ता साधारण शेयर निष्कासन गर्न नेपाल धितो पत्र बोर्डबाट अनुमति पाएको छ ।

यसमध्ये सर्वसाधारणका लागि छुटाइएको शेयरमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् १५ करोड ५० लाख रुपैयाँ बराबरका १५ लाख ५० हजार कित्ता शेयर स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको हो । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म शेयरका लागि आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आइपिओ निष्कासन छिटोमा माघ ६ गते र ढिलोमा माघ २१ गते बन्द हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने छिटोमा पुस २५ गते र ढिलोमा माघ ६ गतेसम्म आवेदन दिन सकिनेछ ।

स्थानीय बासिन्दाले प्रभु बैङ्क, ग्लोबल आइएमई बैङ्क, कृषि विकास बैङ्क र प्राइम कमर्सियल बैङ्कको बेसीशहर शाखा तथा हिमालयन बैङ्कको भुलभुले शाखाबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले धितो पत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैङ्क तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटलले पाएको छ । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आइपिओ जारी गर्ने जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २२, २०८२  ०८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update