Harsamaya
पुस २१ : वीरगञ्जमा कफ्र्यू आदेश जारी देखि कोलम्बियामा समेत अमेरिकी हस्तक्षेपको आशंका सम्म
ग्राफिक्सः हर समय/harsamaya

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका मुख्य क्षेत्रहरूमा कफ्र्यू आदेश जारी गरेको छ ।  जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी भोला दाहालले पुस २१ गते साँझ ६ः०० बजेदेखि भोलि पुस २२ गते बिहान ८ः०० बजेसम्मका लागि कफ्र्यू लगाएका हुन् । 

प्रशासनका अनुसार पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ सिर्सिया पुल, उत्तरतर्फ पावर हाउस चोक र दक्षिणतर्फ शंकराचार्य गेटसम्मको सीमानाभित्र कफ्र्यू लागू हुनेछ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी गरिएको कफ्र्यू आदेशमा उल्लेख छ । 

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।

धार्मिक सद्भाव भड्काउनेलाई कारबाही गर्ने गृहको चेतावनी : गृह मन्त्रालयले धार्मिक र सामाजिक सद्भाव खलबल्याउने गतिविधि गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै तराई–मधेसका केही जिल्लामा सामाजिक सञ्जालको दुरुपयोग गरी हिंसा भड्काउने काम भइरहेको भन्दै मन्त्रालयले त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याउने बताएको हो । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पछिल्लो समय धनुषा लगायतका स्थानमा देखिएका अराजक गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

सामाजिक सञ्जालको प्रयोग गरेर निश्चित समुदाय र धर्मलाई लक्षित गरी तोडफोड, आगजनी र लुटपाट जस्ता हिंसात्मक गतिविधि गर्नेलाई कारबाही प्रक्रिया अगाडि बढाइसकिएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सिरहा प्रशासनको आग्रह : जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लाको धार्मिक, जातीय तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी कुनै पनि गतिविधि नगर्न आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले आज सूचना जारी गर्दै समाजमा वैमनस्यता फैलाउने कार्य नगर्न सचेत गराएका हुन् ।

प्रशासनद्वारा जारी विज्ञप्तिमा एक समुदायले अर्को समुदायको धर्म, संस्कृति र आस्थामा आँच पुर्‍याउने, घृणा फैलाउने वा कसैको मानमर्दन गर्ने कार्यहरू राष्ट्रिय एकता र सामाजिक सौहार्दताको विरुद्ध हुने उल्लेख गरिएको छ ।

पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग गरी भ्रामक अफवाह फैलाउने र साम्प्रदायिक भावना भड्काउने प्रयासहरू भइरहेको भन्दै प्रशासनले यस्ता क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

 

मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक : 

नेपाल सरकार मन्त्रिपरिषदको बैठकले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अुनसन्धान निर्देशक पदमा अुनसन्धान निर्देशक ओम बहादुर खड्कालाई बढुवा गर्ने निर्णय गरेको छ ।

आज सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिएका छन् ।

कांग्रेस कार्य सम्पादन बैठक : राष्ट्रिय सभामा गठबन्धन गर्ने, विशेष महाधिवेशनबारे मौन : 

नेपाली कांग्रेस आसन्न राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनमा केन्द्रीत भएको छ। सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठक महाधिवेशन भन्दापनि निर्वाचनमा केन्द्रीत भएर नेताहरुले आफ्नो धारणा राखे । 

सो क्रममा राष्ट्रियसभाको निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्ने निर्णय पनि गरेको छ । माघ ११ गतेका लागि तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कांग्रेसले संविधान निर्माणमा संलग्न दलसँग गठबन्धन गर्ने निर्णय गरेको हो ।

नेता वीरबहादुर बलायरले बैठकले गठबन्धन गर्ने निर्णय गरेको र सीट संख्याबारे नेताहरू बसेर सहमति जुटाउने बताए । त्यस्तै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सोमबार साँझसम्म सबै दलसँग कुरा मिल्ने बताए । भोलि मंगलबार उम्मेदवारको टुंगो लगाइने उनले बताए ।

पपुलिष्ट र अपरिपक्कता भनेर गाली गर्नेहरुको चाङमा टेकेर समृद्धिको सपना पूरा गर्छौ’ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ वैकल्पिक शक्तिहरुको एकतालाई पपुलिष्ट र राजनीतिक अपरिपक्कताहरुको एकताको संग्या दिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

सोमबार काठमाडौंमा आयोजित रास्वपाको बृहत राजनीतिक समायोजन घोषणा सभालाई सम्बोधन गर्दै उनले आफूहरु गालीको चाङमा टेकेर भएपनि देशको समृद्धिको सपना पूरा गरेर छोड्ने दाबी गरे ।

उनले भने, ‘हामीले विभिन्न आरोपहरु खेपेका छौं । कतिपयले पपुलिष्टहरु मिले । यिनीहरुमा राजनीतिक परिपक्कता छैन भनेको पनि सुन्नु परेको छ । हामीलाई गाली गर्दा खुसी मिल्छ भने गर्नुहोस् । हामी त्यो गालीको चाङमा टेकेर यो देशको समृद्धिको सपना पूरा गरेर छोड्ने छौं ।’

कोलम्बियामाथि ट्रम्पको कडा टिप्पणी, अमेरिकी हस्तक्षेपको आशंका बढ्यो : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाबारे दिएको कडा र अभूतपूर्व टिप्पणीले कोलम्बियामा समेत अमेरिकी हस्तक्षेपको आशंका बढेको छ ।

ट्रम्पको टिप्पणीले अन्तर्राष्ट्रिय स्तरमा विवाद चर्काएको छ । वासिङ्टनमा पत्रकारहरूसँगको छोटो संवादका क्रममा ट्रम्पले कोलम्बियालाई ‘एउटा बिरामी मानिसले चलाएको देश’ भन्दै वर्तमान नेतृत्व ‘धेरै समय टिक्ने छैन’ भन्ने टिप्पणी गरेका हुन् ।

पत्रकारले यसले कोलम्बियामा अमेरिकी कारबाहीको संकेत हो कि भनेर सोध्दा ट्रम्पले ‘मलाई त ठीकै लाग्छ’ भन्दै जवाफ दिएका थिए । उनको यो छोटो अभिव्यक्तिले कोलम्बियामा सम्भावित अमेरिकी हस्तक्षेपको अड्कलबाजी बढाएको छ भने व्यापक आलोचना समेत भएको छ ।

कोलम्बिया लामो समयदेखि लागूऔषध नियन्त्रण, क्षेत्रीय सुरक्षा र आर्थिक सहकार्यका क्षेत्रमा अमेरिकाको नजिकको साझेदार रहँदै आएको छ ।

प्रकाशित मिति: सोमबार, पुस २१, २०८२  २२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update