काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ वैकल्पिक शक्तिहरुको एकतालाई पपुलिष्ट र राजनीतिक अपरिपक्कताहरुको एकताको संग्या दिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
सोमबार काठमाडौंमा आयोजित रास्वपाको बृहत राजनीतिक समायोजन घोषणा सभालाई सम्बोधन गर्दै उनले आफूहरु गालीको चाङमा टेकेर भएपनि देशको समृद्धिको सपना पूरा गरेर छोड्ने दाबी गरे ।
उनले भने, ‘हामीले विभिन्न आरोपहरु खेपेका छौं । कतिपयले पपुलिष्टहरु मिले । यिनीहरुमा राजनीतिक परिपक्कता छैन भनेको पनि सुन्नु परेको छ । हामीलाई गाली गर्दा खुसी मिल्छ भने गर्नुहोस् । हामी त्यो गालीको चाङमा टेकेर यो देशको समृद्धिको सपना पूरा गरेर छोड्ने छौं ।’
त्यस्तै उनले पुराना राजनीतिक दलहरुलाई निर्वाचनमा मुलुकलाई सहज रुपमा जान दिन आग्रह गर्दै चलखेल र हात लम्काउने काम नगर्न सुझाए । निर्वाचन मार्फत जनताले आफ्नो अभिमत जाहेर गर्ने बताउँदै उनले त्यो अभिमत मार्फत नयाँ इतिहास कोर्ने धारणा राखे ।
‘निर्वाचनमा मुलुकलाई सहज रुपमा जान दिनुहोस् । चलखेल नगर्नुहोस् । हात लम्काउने चम्काउने नगर्नुहोस् । निर्वाचन मार्फत जनताले आफ्नो अभिमत जाहेर गर्ने छन् । त्यो अभिमत मार्फत नयाँ इतिहास कोर्नु छ । त्यो इतिहासमा सक्नुहुन्छ भने योगदान दिनुहोस् । सक्नुहुन्न भने बिथोल्ने काम नगर्नुहोस्’ उनले भने ।
त्यस्तै, सभापति लामिछानेले पुराना राजनीतिक दलहरुले आएका परिवर्तनहरु स्वीकार गर्न अप्ठ्यारो मानिरहेको बताए । पुराना दलले कुशासनको चपेटामा पारेर मुलुकलाई आज यो अवस्थामा पुर्याएको उनको भनाई छ ।
उनले भने, ‘पुराना राजनीतिक दलहरुले यता कता आएका परिवर्तनहरु स्वीकार गर्न अप्ठ्यारो मानिरहेको देखेको छु । उहाँहरुलाई म वितम्रतापूर्वक भन्न चाहान्छु । स्वीकार्नु होस् । आफ्नो असक्षमतालाई स्वीकार्नुहोस् । तपाईहरुले पछिल्लो समय कुशासनको चपेटामा पारेर मुलुकलाई आज यो अवस्थामा पुर्याउनुभयो । अब थप जोडबल नगर्नुहोस् ।’
उनले विभेदरहित समाज निर्माण गर्ने कुरामा रास्वपा प्रतिबद्ध रहेको विश्वास दिलाए ।

