काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ का लागि घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट गतिविधिहरू समेटिएको वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।
हालै पत्रकार भेटघाट कार्यक्रम गर्दै क्यानले सन् २०२६ को लागि वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो । क्यालेन्डर अनुसार पुरुष, महिला तथा युवा तहमा वर्षभरि विभिन्न राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरू आयोजना हुनेछन् ।
सन् २०२६ मा घरेलु स्तरमा पुरुष ए डिभिजन कप जिल्ला र प्रदेशस्तरमा आयोजना हुनेछ भने जय ट्रफी र राष्ट्रिय विद्यालय च्याम्पियनसिप जिल्लास्तर र प्रदेशस्तरमा सञ्चालन हुनेछन् ।
पुरुष राष्ट्रिय ए डिभिजन कप र राष्ट्रिय विद्यालय च्याम्पियनशिपले मार्च र अप्रिलमा प्रतिस्पर्धा हुनेछ । महिला ए डिभिजन कप जिल्ला तथा प्रदेशस्तरमा खेलाइनेछ ।
वाई–वाई पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता र महिला ए डिभिजन कप राष्ट्रिय प्रतियोगिता समेत वर्षभर सञ्चालन हुनेछन् । नेपाल क्रिकेट संघले युवा क्रिकेटलाई प्राथमिकतामा राख्दै क्यान युवा कप, लेभल १ र २ कोचिङ कोर्स, पिच क्युरेटर कोर्स तथा अम्पायरिङ कोर्स आयोजना गर्ने जनाएको छ ।
गल्र्स राष्ट्रिय च्याम्पियनशिप, महिला लङ फम्र्याट प्रतियोगिता, नेपाल प्रिमियर लिग (एनपिएल), राष्ट्रिय स्कूल च्याम्पियनशिप र अन्तर–विद्यालय तथा कलेज स्तरका प्रतियोगिताहरू पनि वर्षभर विभिन्न समय अवधिमा आयोजना गरिनेछन्। डिसेम्बरमा क्षेत्रीय घरेलु प्रतियोगिताहरू समापन हुनेछन्।
अन्तर्राष्ट्रिय क्रिकेटमा पनि नेपाल सक्रिय रहनेछ । महिला टोली आईसीसी टी–२० विश्वकप छनोटमा भाग लिनेछ भने पुरुष र महिला टोलीले द्विपक्षीय शृङ्खला, यू–१९ टोलीको भुटान तथा मलेसिया भ्रमण, आईसीसी विश्व क्रिकेट लिग, एसीसी पुरुष र महिला कप प्रतियोगिता, तथा एसिया कपमा प्रतिस्पर्धा गर्ने छन् ।
यसबाहेक नेपाल प्रिमियर लिग र अन्तर्राष्ट्रिय त्रिकोणीय शृङ्खला समेत सञ्चालन हुने योजना बनाइएको छ । क्यानले २०२६ मा घरेलु संरचना बलियो बनाएर अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्ने लक्ष्य राखेको छ ।
विशेष गरी महिला र युवा क्रिकेटलाई प्राथमिकतामा राख्दै संघले वर्षभरि विविध प्रतियोगिता र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नेछ ।

