काठमाडौं- काठमाडौं महानगरपालिका नगर प्रहरी बलका ७ जना नगर प्रहरी निरीक्षकलाई कायममुकायम नगर प्रहरी नायव उपरीक्षकको जिम्मेवारी प्रदान गरिएको छ ।
आज महानगरपालिकाको सभा कक्षमा भएको विशेष समारोहमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, सुशासन समितिका संयोजक ख्यामराज तिवारीको रोहवरमा प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले उनीहरूलाई नगर प्रहरी नायव उपरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। त्यस अवसरमा विषयगत समितिका संयोजक, वडाध्यक्षहरू, विभागीय प्रमुखहरू उपस्थित रहेका थिए।
दर्ज्यानी चिन्ह प्राप्त गर्नेमा लीलाराज गाछा, ध्रुवकुमार भुजेल, किशोरकुमार भट्टराई, प्रकाश पण्डित, चन्दन श्रेष्ठ, राजेन्द्र देवकोटा र एलिजा नेपाल रहेका छन्।
समारोहमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले, नगर प्रहरी बलको कामले महानगरपालिकाको सहरी व्यवस्थापनका क्षेत्रमा विगतको छवि सुधार भएको बताउँदै कामको प्रशंसा गरे। ‘वृत्ति विकासका लागि अवसर खुला भएपछि पदोन्नतिका अवसर प्राप्त हुनेछन् । यसबाट महानगर बासीले अनुभूति हुने सेवाका लागि काम बढ्दै जाने विश्वास गरेका छौँ,’ गुरागाईँले भने ।
महानगरपालिकाको नीति, कानुन तथा निर्णय कार्यान्वयन, सहरी सुव्यवस्थापनका विविध क्षेत्रको व्यवस्थापन नगर प्रहरीको मुख्य जिम्मेवारी रहेका छन् । महानगर प्रहरी ऐनले प्रहरी बललाई कर्तव्य पालना, सेवामूलक, जनउत्तरदायी र गुणस्तरीय बनाउन निर्देशित गरेको छ ।

