Harsamaya
जब प्रधानध्यापकले ‘तपाईंहरू जे पनि फेसबुकमा हाल्नुहुँदोरछ’ भनेर मुस्कुराए
प्रधानध्यापक घनश्याम पौडेल ।

सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा केही समय अघिबाट एक विद्यार्थी एकाएक विद्यालय आउन छाडिन् । मंगलामाई माविमा ९ कक्षामा अध्ययनरत ती छात्रामाथि अनावश्यक टर्चर दिएर उनी पुस ६ गतेदेखि विद्यालय आउन छाडेकी हुन् ।

उनलाई विद्यालयमै ८ कक्षामा अध्ययनरत एक विद्यार्थीले अनावश्यक टर्चर (जिस्क्याउने) दिएपछि विद्यालय आउन छाडेकी थिइन् । छात्राका बुवाले आफ्नी छोरीमाथि भएको अत्याचारबारे विद्यालयका प्रधानध्यापक घनश्याम पौडेलसँग छलफल पनि गरेका थिए । उनले ती छात्रलाई ‘खतम पार्ने’ धम्कीसमेत प्राधानध्यापक पौडेललाई दिएका थिए ।

विद्यालयमा भइरहेको गतिविधिले पौडेल तनावमा थिए । कसरी समस्या समाधान गर्ने सोचिरहेका थिए । उनले प्रत्यक्ष परोक्ष रुपमा ती थामी विद्यार्थीलाई पनि सम्झाएका थिए । तर उनी टेरपुच्छर नलगाइ बसेका थिए ।  तर ती छात्राका बुवाले छोरीमाथि असुरक्षा बढेको भन्दै विद्यालय जानै बन्द गरिदिए । ती छात्राको पढाइ ९ कक्षामा गएर विश्राम लियो ।

अहिले उनी काठमाडौंतिर रहेको उनको पारिवारिक स्रोतको भनाइ छ । ती छात्रामाथि असुरक्षित व्यवहार गर्ने कोही होइन सामाजिक सञ्जालमा शिक्षकले कुटपिट गरेको भन्दै कुवेतबाट आफ्नी आमालाई फोटो सार्वजनिक गर्न लगाउने १६ वर्षीय सोबित थामी नै हुन् । 

विद्यालय शिक्षा आर्जन गर्ने पाठशाला हो । अनुशासन पालना गर्ने र गराउने मन्दिर हो । शिक्षा र संस्कार दिने पाठशाला हो । अभिभावकले राम्रो शिक्षा र संस्कार शिक्षकले दिन्छन् भनेर विद्यालय पठाएका हुन्छन् ।  तर अनुशासन उल्लघंन गरेर विद्यालयको वातावरण नै दुषित बनाउने विद्यार्थीलाई शिक्षक तथा विद्यालयले के गर्ने ? सम्झाउने बुझाउने नै हो ।

तर ती सोबितले कसैले भनेको नमान्ने र आफूखुशी गर्ने गरेका छन् । उनको उमेर पनि त्यस्तै छ । उनले विद्यालयमा सानो तिनो ग्याङ नै बनाएका छन् । विदेशमा रगत पसिना बगाएर आमाले पठाएको पैसाको उनलाई केही मतलब नै छैन । उनी आफ्नो ग्याङमा जति पनि खर्च गर्थे र विद्यालयमा आफ्नो मनोमानी देखाउँथे ।

उनी अनुशासन उल्लघंन गर्दै कक्षामा नबस्ने, शिक्षकहरू कक्षामा गइसकेपछि आउने, पढ्न मन नलागे आफ्नै सुरमा बाहिर जाने गर्दथे । सोमबार उनी विद्यालय आएका थिए । विद्यालयमा दोस्रो पिरियडमा ट्युसन पढाउने मिस लक्ष्मी ओलीले ‘ट्युसन फि ल्यायौं ?’ भनेर सोधेकी थिइन् । उनी त्यो प्रश्न सुन्नासाथ कक्षा छाडेर निस्किए । ओलीको पिरियड सकियो उनी फर्केनन् । विद्यालय बाहिर उनी पसलमा उभिरहेका थिए । पैसा लिन गएको उनले बताएका छन् । तर शिक्षक ओलीले भने आफूले ट्युसन फि ल्यायौं भनेर सोधेको तर लिन जाउ नभनेको बताउँछिन् । अघिपछि पनि उनी कक्षा हुँदाहुँदै बाहिर निस्कन्थे । त्यो दिन पनि त्यसै गरे भन्ने ओलीलाई लाग्यो । 

तेस्रो पिरियडमा उनै प्रधानध्यापक पौडेलको कक्षा लिने पालो थियो । विद्यार्थीहरू बाहिर देखेपछि स्वभाविक रुपमै ‘भित्र हिँड’ भन्ने शिक्षकहरूले भन्ने गर्छन् । पौडेलले पनि स्वभाविक रुपमा भने । उनले सुनेको नसुनेइ गरे । एउटा सानो सिर्कनो बोकेर तिमीहरु के हो यहाँ भनेपछि उनी आए । सधैं आफ्नो पिरियडमा बाहिर हुने भएकाले पौडेलले उनीहरूलाई सम्झाए । पिसाब फेर्ने निहुँ बनाएर उनी सधैं पिरियड आधाउधी भएपछि कक्षामा आउने गर्थे । उनले त्यो दिन तिमीहरू फटाहा भयौं भनेर त्यही सानो सिर्कनो ढाडमा फाल्दा सोबितले यता हेरे र गालामा कोतर्यो । त्यही कुरालाई उनीहरूले निहुँ बनाए र सामाजिक सञ्जालमा भाइरल गराए ।

भाइरल हुने रोग यो समाजमा धेरैलाई छ । तर त्यो भाइरलले कसैको जीवनमा कति अपुरणीय क्षति पुग्छ भन्ने सायद भाइरलकर्तालाई थाहा नहुन सक्छ । अझ सोबित त्यही विद्यालयमा पढ्ने र पौडेल त्यही विद्यालयमा पढाउने शिक्षक हुन् । विद्यार्थीको भविष्य राम्रो होस् भनेर शिक्षकले अनुशासनमा राख्न खोजेको हुन्छ । तर त्यस्ता कुरालाई भाइरल बनाउनेले के के पाउँछन् थाहा छैन तर शिक्षक र विद्यार्थीबीचको त्यो आत्मीयता भने कम हुँदै जानेछ र भोलि शिक्षकले विद्यार्थीलाई केही नभन्ने अवस्था आउन पनि सक्छ ।

‘वर्षौ देखि अध्यापन गराइरहेका शिक्षकले नियत राखेर कुटपिट गरे भनेर सामाजिक सञ्जालकर्ताले त पत्याउलान्’, एक शिक्षकले भने, ‘तर पिस्करका कति जनाले पत्याउलान् भाइरल कर्ताले त्यो पनि बुझ्न जरुरी छ ।’ उनले थपे ‘आफैं प्रहरी, प्रशासन र न्यायाधीश बन्न जति सजिलो छ एउटा मानव बन्न चाहि गार्हो नै छ । समाज बुझ्न पढ्न त झन भाइरल कर्ताको दिमागले नै भ्याउँदैन ।’  

मंगलबार पनि सोबित विद्यालय आएका थिए । विद्यालयमा रिजल्ट सेयरिङ थियो । सोबितका बुबाले यो बदमाश छ अनुशासनमा बस्दैन भनेर प्रधानध्यापकसँग गुनासो गरेका थिए । प्रधानध्यापक पौडेलले केही भनेनन् –‘तपाईंहरू जे पनि फेसबुकमा हाल्नुहुँदोरछ’ भनेर मुस्कुराए ।  

प्रकाशित मिति: मंगलबार, पुस १५, २०८२  १४:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update