Harsamaya
ज्येष्ठ नागरिकलाई आदर, सम्मान, उचित संरक्षण जरुरी : राष्ट्रपति  पौडेल

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले ज्येष्ठ नागरिक प्रेरणाका पुञ्ज र समाज विकासका मार्गदर्शकका रूपमा रहेको बताएका छन् ।  राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८२ का अवसरमा शुभकामना सन्देश दिँदै उनले  ज्ञान, सीप र अनुभवले भरिपूर्ण र  माया, ममता र करुणाका स्रोत रहेका ज्येष्ठ नागरिकलाई आदर, सम्मान, उचित संरक्षण जरुरी रहेको उल्लेख गरेका छन् ।

विसं २०५१ पुस ११ गते ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको दिनलाई स्मरण गर्दै सरकारको निर्णयबमोजिम सोही दिनलाई आधार मानी राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरु गरिएको हो ।

‘ज्येष्ठ नागरिकको अनुभव, ज्ञान र योगदानको कदर गर्दै उनीहरूलाई घर, परिवार, टोल, समाज साथै राज्यबाट समेत उचित सम्मान र संरक्षण गर्न सके मात्र यो दिवस सार्थक हुन सक्दछ भन्ने मलाई लाग्दछ”, राष्ट्रपतिले सन्देशमा भनेका छन् ।

ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवको पुस्तान्तरणका लागि अनुकूल परिस्थिति निर्माण गर्न परिवारका सदस्य, समाज, सङ्घसंस्था तथा तीनै तहका सरकारबिच सहकार्य गरी ज्येष्ठ नागरिकप्रति सम्मानित व्यवहार र सहज जीवनयापनका लागि सामूहिक प्रयास गर्न सबैमा उनले आग्रह गरेका छन् ।

 

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०८२  ०७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update