काठमाडौं - आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि २ हजार ४३ जना मतदाता रहेका छन् । निर्वाचन आयोगले हिजो अन्तिम मतदाता नामावली टुङ्ग्याएको हो । फागुन २० गतेबाट ६ वर्षे कार्यकाल पूरा गरेर बिदा हुन लागेका १९ जना सदस्यको रिक्त पदका लागि यो निर्वाचन हुन लागेको हो ।
आयोगका अनुसार सातै प्रदेशबाट ५ सय ४५ जना प्रदेश सभा सदस्य र १ हजार ४ सय ९८ जना स्थानीय तहका प्रमुख र उपाध्यक्ष तथा उपप्रमुख र उपाध्यक्ष गरि जम्मा २ हजार ४३ जना मतदाताले मतदान गर्नेछन् । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन अनुसार प्रदेश सभा सदस्यको मत भार ५३ र स्थानीय तहका पदाधिकारीको मत भार १९ कायम गरिएको छ ।
आयोगका अनुसार सबैभन्दा बढी मत भार मधेश प्रदेशमा रहेको छ । मधेशमा कूल ३ सय ७१ मतदाता रहेका छन्, जसको जम्मा मत भार १० हजार ५ सय ८५ छ । त्यसै गरी बागमती प्रदेशमा ३ सय ४७ मतदाता भए पनि प्रदेश सभा सदस्यको सङ्ख्या ११० धेरै भएका कारण यहाँको मत भार १० हजार ३ सय ३३ पुगेको छ ।
कोशी प्रदेशमा ३ सय ६७ मतदाताको कूल मत भार १० हजार १ सय ३५, लुम्बिनी प्रदेशमा ३ सय ४ मतदाताको मत भार ८ हजार ७ सय ३४ छ भने गण्डकी प्रदेशमा २ सय २९ मतदाताको ६ हजार ३ सय ५७ मत भार रहेको छ ।
सुदूरपश्चिम प्रदेशमा २ सय २७ मतदाताको ६ हजार ८१ मत भार कायम हुँदा सबैभन्दा कम मतदाता र मत भार कर्णाली प्रदेशमा रहेको छ । कर्णालीका १ सय ९८ मतदाताको कूल मत भार ५ हजार १ सय २२ मात्र रहेको छ ।
देशभरका ५ सय ४५ प्रदेश सभा सदस्यको कूल मत भार २८ हजार ८ सय ८५ रहेको छ भने १ हजार ४ सय ९८ स्थानीय तहका पदाधिकारीको कूल मत भार २८ हजार ४ सय ६२ रहेको छ । यसरी आगामी निर्वाचनमा कूल ५७ हजार ३ सय ४७ मत भारका लागि प्रतिस्पर्धा हुनेछ ।

