काठमाडौं- नेपाली कांग्रेसको बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा महामन्त्री गगनकुमार थापालाई संस्थापन पक्षिय नेताहरूले महाधिवेशन कार्यतालिकाको विषयमा काउन्टर दिएर छन्। उनीहरूले तोकिएको मितिमा महाधिवेशन नहुँने भन्दै महाधिवेशन सम्पन्न हुने गरी कार्यतालिका ल्याउनुपर्ने भन्दै आवाज उठाएका छन्।
बैठकमा महामन्त्री गगन थापाले कार्यतालिका थोरै संशोधन गरेर पुस अन्तिममै महाधिवेशन गर्न सकिने गरी प्रस्ताव राखेका थिए। थापाले वडा, क्षेत्र र केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका प्रस्ताव गरे पनि संस्थापन पक्ष त्यसको विपक्षमा देखिएको छ ।
बैठकमा महामन्त्री थापाले कार्यतालिका अनुसार १५ औं महाधिवेशनको मितिमा सामान्य हेरफेर गर्न सकिने प्रस्ताव राखे । उनले तीन तहको महाधिवेशन गर्न सकिने गरी प्रस्ताव राखे ।जसमा वडाको अधिवेशन गर्ने र क्षेत्रीय प्रतिनिधि छान्ने, क्षेत्रीय अधिवेशन गरेर केन्द्रीय महाधिवेशनको मेरुदण्ड महाधिवेशन प्रतिनिधि छान्ने र केन्द्रीय अधिवेशन गर्ने बाटो खुलाउन सकिने प्रस्ताव राखेको उनले जानकारी दिए ।
क्षेत्रीय अधिवेशनपश्चात पुस २६ देखि केन्द्रीय महाधिवेशन गर्न सकिने बैठकमा प्रस्ताव राखेको थापाले जानकारी दिए । प्रस्तावित संशोधनको कार्यतालिकामा १६ गते गर्ने भनिएको वडा अधिवेशन २१ गते गर्ने र २१ र २२ को क्षेत्रीय अधिवेशन २३ गते गरेर पुस २६ देखि २८ सम्म केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव गगनको थियो।
तर, महामन्त्री थापाको प्रस्तावमा संस्थापन पक्षले प्रष्ट विमति राखेको छ । आजकै बैठकमा बोलेका नेताहरू ज्ञानेन्द्रबहादुर कार्की, सहमहामन्त्री महेन्द्र यादवलगायतका नेताहरूले तीन तहको मात्र महाधिवेशन स्वीकार्य हुन नसक्ने धारणा राखे । उनीहरूले हचुवाका तालमा कार्यतालिका ल्याउने र तीन तहको मात्र अधिवेशन गर्ने कुरा स्वीकार्य हुन नसक्ने धारणा राखेका थिए।
बैठकमा बोल्दै संस्थापन पक्षीय नेता एनपी साउदले महाधिवेशनको अपूर्ण कार्यतालिका स्वीकार्य नहुने धारणा राखे । बैठकमा राखेको धारणाबारे जानकारी दिँदै उनले पार्टीले अहिले पनि व्यवहारिक रूपमा जटिल हुने कार्यतालिका ल्याएको भन्दै पुनः कार्यतालिका ल्याउँदा सबै तहको महाधिवेशन हुने ग्यारेन्टीसहितको कार्यतालिका आउनुपर्ने धारणा राखेको बताए ।
‘अब कसैलाई दोषारोपण गरेर हुँदैन । पूर्णरूपमा सबै तहको अधिवेशन हुने गरी कार्यतालिका आउनुपर्यो भनेर मैले कुरा राखेँ,’ साउदले लोकान्तरसँग भने, ‘अब १० चोटि स्थगन गरेर महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउनुहुँदैन ।’
कांग्रेस कार्यसम्पादन समिति बैठक भोली पनि बस्ने छ।

