पछिल्लो समय विश्वभर योग, ध्यान र साधनाप्रति मानिसहरुको लगाव बढेको पाइन्छ । जीवनमा सकारात्मक परिवर्तन ल्याउन ध्यानको अझ ठूलो महत्व छ । नेपालमा ध्यानप्रतिको आकर्षण बढ्दै गएको छ । यसै सिलसिलामा जीवन विज्ञानका संस्थापक मध्येका एक एलपी भानु शर्मासँग अमेरिका जानु भन्दा पहिले गरेको कुराकानी ।
ध्यान के हो ? किन गर्ने ? योग, ध्यान र साधनामा के भिन्नता छ ?
प्रत्येक मनुष्यभित्र एउटा विराट ऊर्जाको केन्द्र हुन्छ भन्ने कुरामा म गहिरो रूपमा विश्वस्त छु । दुःखको कुरा के छ भने अधिकांश मानिसहरू त्यो ऊर्जाको अनुभूति नगरी नै जीवन बिताएर संसारबाट बिदा हुन्छन् । त्यो केन्द्र कुनै बाहिरी वस्तु होइन, त्यो त हामी सबैको अन्तरमनमै अवस्थित छ । त्यो ऊर्जाको केन्द्रका दुई मुख्य आयाम छन् । एक, भित्रतिर रहेको गहन शान्ति, जसलाई कसैले शून्यता भन्छन् । अर्को, बाहिरतिर प्रकट हुने शक्ति—ऊर्जा, शान्ति र शक्ति मिलेर नै मनुष्य पूर्ण बनेको छ । यो कुनै कल्पनाको कुरा होइन, यो प्रत्येक मानिसभित्र विद्यमान यथार्थ हो ।अब प्रश्न उठ्छ त्यो ऊर्जालाई कसरी चिन्ने ? मानव इतिहासमा भएका अनेक खोज र अनुभवहरूबाट एउटा सरल र वैज्ञानिक विधि भेटिएको छ, जसलाई ध्यान भनिन्छ । ध्यान कुनै धर्म, जात, लिङ्ग, देश वा उमेरसँग बाँधिएको छैन । यो सबै सीमाभन्दा परको अनुभूति हो, जुन हरेक मनुष्यका लागि समान रूपमा उपलब्ध छ ।ध्यान स्वयं एक प्रक्रिया हो, त्यो प्रक्रियाबाट प्राप्त हुने अनुभूतिलाई योग भनिन्छ । तर समयसँगै योगलाई केवल शारीरिक व्यायामका रूपमा बुझ्ने प्रवृत्ति बढेको छ । वास्तवमा आसन भनेको शरीरलाई स्थिर बनाउने साधन हो । शरीर स्थिर भएन भने मन पनि स्थिर हुँदैन । ठीक त्यस्तै, हल्लिरहेको पानीमा प्रतिबिम्ब नदेखिएजस्तै अस्थिर शरीर र मनमा आत्मचिन्तन सम्भव हुँदैन ।योगासनले शरीरलाई स्थिर बनाउँछ, प्राणायामले मनलाई शान्त पार्छ । अनि ध्यानले त्यो स्थिरताभित्र लुकेको विराट शान्ति र शक्तिको अनुभूति गराउँछ । अब भन्नुस आफूभित्रको शान्ति र शक्ति कसलाई चाहिँदैन र ? यही त जीवनको सार हो ।
ध्यानप्रति नेपालीहरुको लगाव कस्तो छ ? विदेशीहरु भन्दा नेपालीहरुमा ध्यानप्रति बढी आकर्षण भएको हो ?
नेपालमा पछिल्ला वर्षहरूमा ध्यानप्रतिको झुकाव र लगाव उल्लेखनीय रूपमा बढेको छ । तर प्रारम्भका दिनहरू सम्झँदा, ध्यानप्रति त्यति धेरै आकर्षण थिएन । आज आएर अवस्था पूर्ण रूपमा फेरिएको छ । अहिले अत्यन्त ठूलो संख्यामा मानिसहरू ध्यानतर्फ आकृष्ट भइरहेका छन, यसको पछाडि गहिरो कारण छ । आजको विश्वको यथार्थ के हो भने पृथ्वीको एकतिहाइभन्दा बढी जनसंख्या चरम तनावमा बाँचिरहेको छ । मानसिक आक्रान्तता, असन्तुलन र अशान्ति विश्वव्यापी समस्या बनेका छन् । झगडा, कलह, वैमनस्य, ‘मेरो–तेरो’ को भावना, यहाँसम्म कि युद्धहरू पनि अन्ततः मानिसको मनमै जन्मिन्छन् । युद्ध सिमानामा लडिएला, तर त्यसको बीउ मनमा रोपिन्छ । त्यस्तै, शान्तिका सम्झौताहरू राजधानीमा हस्ताक्षर गरिए पनि शान्तिको वास्तविक प्रेरणा र चाहना पनि मनबाटै उत्पन्न हुन्छ, त्यसैले म भन्छु—मन नै केन्द्र हो । आज संसारलाई यस्तो शान्ति चाहिएको छ, जहाँ म शान्त हुनका लागि तपाईंलाई अशान्त बनाउन नपरोस र यस्तो शक्ति चाहिएको छ, जहाँ म शक्तिशाली हुन अरूलाई कमजोर बनाउन नपरोस् । किनकि शान्ति र शक्ति दुवै प्रत्येक मनुष्यभित्र निहित छन् । कोही पनि त्यसभन्दा वञ्चित छैन, यही कारणले ध्यान आज विश्वका लागि अत्यन्त सान्दर्भिक बनेको छ ।
ध्यान र नेपाल किन अन्तर सम्बन्धित छन् ?
अहिलेको तथ्याङ्क हेर्ने हो भने, पृथ्वीमा सात जनामध्ये कम्तीमा एक जनाले हप्तामा एकपटक ध्यान गर्ने गरेको पाइन्छ । यो आफैंमा ठूलो चेतनाको संकेत हो । हामी यस चेतनालाई नेपालको मौलिक विज्ञानसँग जोडेर अघि बढाइरहेका छौँ किनकि नेपाल हिमवतखण्ड हो। जसरी शरीरमा शिरको स्थान सर्वोच्च हुन्छ, त्यसरी नै पृथ्वीको शिर हिमाल हो । चिन्तन, दर्शन र विज्ञान जन्मिनुपर्ने भूमि यही हो । हजारौँ वर्षदेखि विकसित ध्यान, योग, समाधि, आयुर्वेद, प्राकृतिक चिकित्सा र सांस्कृतिक परम्पराहरूको सार बुझेर मानव कल्याणमा प्रयोग गर्नु नै जीवन विज्ञानको लक्ष्य हो । यही भावनासहित हामी नेपाललाई विश्वसामु प्रस्तुत गरिरहेका छौँ । हामी विश्वतिर जान खोजिरहेका छैनौँ, नेपाल आफैं विश्वमा गइरहेको छ ।
ध्यानका पनि प्रकार र विधिहरु होलान्, सामान्य मानिसले गर्ने ध्यान कुन हो ? वास्तवमा ध्यानले मानव जीवनमा त्यस्तो के परिवर्तन ल्याउँछ ?
ध्यानका विधिहरू अनेक छन्, किनकि मनुष्यभित्र रहेको विराट क्षेत्र र विराट शक्तिलाई चिन्ने बाटो एउटामात्र हुँदैन । त्यससम्म पुग्ने मार्गहरू फरक–फरक हुन सक्छन् । सामान्यतया ध्यानलाई दुई प्रकारबाट बुझ्न सकिन्छ । एक प्रकारको ध्यानले मानिसलाई शान्त त बनाउँछ, तर उसलाई एकोहोरो पनि बनाइदिन्छ । त्यस्तो ध्यानले व्यक्तिलाई संसारबाट टाढा जान प्रेरित गर्छ । घर परिवार, सामाजिक सम्बन्ध र जिम्मेवारीप्रति उदासीन बनाउने सम्भावना हुन्छ । यस्ता ध्यान प्रणालीहरू पनि अस्तित्वमा छन् । तर जीवन विज्ञानको अभ्यासमा हामीले प्रयोग गर्ने ध्यान प्रणाली त्यसभन्दा भिन्न छ । यसलाई हामी ‘ऊर्जा ध्यान’ भन्छौँ । ऊर्जा ध्यानको मूल विशेषता के हो भने, यसले मानिसलाई जिम्मेवारीबाट भाग्न सिकाउँदैन । बरु, उसलाई आफ्नो घर परिवार, समाज र राष्ट्रप्रतिको दायित्व अझ गहिरो रूपमा बोध गराउँछ । यो ध्यानले संसार त्याग्ने होइन, यही संसारलाई अझ सुन्दर र सन्तुलित बनाउने चेतना जागृत गराउँछ । मैले यसलाई विशिष्ट प्रणाली भनेको कारण पनि यही हो, अधिकांश ध्यान विधिहरू भित्री शान्तिमा सीमित हुन्छन् । तर ऊर्जा ध्यानले शान्तिसँगै शक्ति ऊर्जा पनि जागृत गर्छ । जब शान्ति र शक्ति सँगसँगै विकसित हुन्छन् । तब व्यक्ति आत्मकेन्द्रित होइन, विश्वकेन्द्रित बन्छ । यदि यस्तो ध्यान प्रणाली मनुष्यको हातमा व्यापक रूपमा पुग्यो भने, यसको प्रभाव केवल व्यक्तिसम्म सीमित रहने छैन । यसले समाज, राष्ट्र हुँदै समग्र पृथ्वी ग्रहकै हित गर्नेछ भन्ने मेरो दृढ विश्वास छ ।
यहाँहरूले वर्षौंदेखि चलाउँदै आएको ध्यान अभियानको प्रभाव चाहीं कस्तो छ ?
मैले पहिले पनि भनेको छु, हिंसा बाहिर जन्मिँदैन, हिंसा मानिसको मनमै जन्मिन्छ । तुलना, इश्र्या, लोभ र द्वेषजस्ता सबै विकारहरूको स्रोत मन नै हो । जब मानिसले आफु भित्रको क्षमता र शक्ति चिन्दैन, तब ऊ अरूसँग तुलना गर्छ, प्रतिस्पर्धामा अल्झिन्छ र अरूलाई सानो बनाएर मात्र आफू ठूलो बन्न सकिन्छ भन्ने भ्रममा बाँच्न थाल्छ । यो सोचाइ हाम्रो सभ्यताको होइन, यो त पश्चिमी प्रतिस्पर्धात्मक प्रणालीको उपज हो । हाम्रो मौलिक परम्परा त सहकार्य, सम्मान र सबैलाई आफ्नै ठान्ने प्रणाली हो । यही कारण ध्यान आज अत्यन्त सान्दर्भिक बनेको छ । एकपटक मानिसले ध्यानको अभ्यास गरेपछि उसको मनभित्र रहेको हिंसा स्वतः घट्न थाल्छ । कोही पनि व्यक्ति जन्मिँदा हिंसालु हुँदैन । के तपाईंले कहिल्यै बच्चाले स्वभावतः अरूलाई घृणा गरेको देख्नुभएको छ ? त्यो हामीले सिकाउने हो, समाज, शिक्षा र डरले भरिएका सन्देशहरूले मानिसको मनलाई भड्काउँछन् । यसरी विक्षिप्त बनेको मनको सबैभन्दा प्रभावकारी औषधि ध्यान नै हो ।
तपाईहरुकै सक्रियतामा ध्यान पनि दिवस मनाइन्छ । यो कसरी संभव भयो ?
यो कुरा एकदमै सरल छ । जब मैले आफ्नै भित्र रहेको क्षमता चिन्छु, तब मलाई तुरुन्तै के अनुभूति हुन्छ भने मेरो भित्र जति शान्ति र शक्ति छ, त्यति नै अर्को व्यक्तिभित्र पनि छ । यो बोध भएपछि अरूलाई उपदेश दिन मन लाग्दैन, सिकाउनभन्दा पनि साझा गर्न मन लाग्छ । किनकि सबै मानिस आफूजस्तै देखिन थाल्छन् । त्यसपछि प्रतिस्पर्धा स्वतः समाप्त हुन्छ र सबैप्रति एउटा सहज प्रेम जन्मिन्छ । यही प्रेमबाट मद्दत गर्ने भावना जन्मिन्छ । अर्को व्यक्ति दुःखमा छ भने, उसलाई सहयोग गर्न मन लाग्छ, किनकि मलाई थाहा हुन्छ दुःखको समाधान कहाँ छ । यही अवस्थालाई ऋषिहरूले ‘करुणा’ भने । करुणाबाटै जीवन विज्ञानको जन्म भएको हो । जीवन विज्ञान कुनै बाहिरबाट मानिसलाई सुधार्ने विचार होइन, यो त मानिसभित्रै रहेको क्षमतालाई स्मरण गराउने प्रक्रिया हो । मानिस जन्मिदैखेरि हिंस्रक वा पापी जन्मिँदैन । उसले आफ्नो वास्तविक स्वरूप बिर्सँदा मात्रै अरूलाई दुःख दिन थाल्छ । यदि उसले आफूलाई चिनेको भए, आफ्नो भित्रको शक्ति देखेको भए, कसले कसलाई दुःख दिन्छ र ? यही बुझाइबाट हाम्रो अभियान प्रारम्भ भएको हो । अभियान सुरु गर्दा हामीलाई थाहा थियो, यदि यो ज्ञान पृथ्वीभरि पुग्यो भने संसार नै नयाँ बन्न सक्छ । आज त्यसका प्रारम्भिक संकेतहरू देखिन थालेका छन् । नेपालभित्र हामीले व्यापक रूपमा काम गरेका छौँ र अब यो काम अन्तरराष्ट्रिय स्तरमा विस्तार भइरहेको छ । “द अवेकनिङ प्रोजेक्ट” हाम्रो मुख्य अभियान हो, जसलाई हामी विश्वव्यापी बनाउँदै लगेका छौँ ।
यसै अभियानको सिलसिलामा, डिसेम्बर १९ का दिन—ध्यान दिवसको पूर्वसन्ध्यामा—संयुक्त राष्ट्रसंघको केन्द्रीय कार्यालय, न्युयोर्कमा हामी एउटा विराट कार्यक्रम गर्दैछौँ । यो कार्यक्रम नेपालको तर्फबाट गरिने अत्यन्तै ऐतिहासिक पहल हो । त्यस दिन संयुक्त राष्ट्रसंघमा दुईवटा प्रमुख कार्यक्रम हुनेछन् । पहिलो कार्यक्रम ज्ञान र अवधारणा प्रस्तुत गर्ने मञ्च हुनेछ, जहाँ संसारभरिका कूटनीतिज्ञ, प्रतिनिधि, वैज्ञानिक र आम नागरिक उपस्थित हुनेछन् । त्यही मञ्चबाट हामी नेपाललाई विश्वसामु प्रस्तुत गर्दैछौँ । म नेपालभित्र रहँदा जीवन विज्ञान भानु हुन सक्छु, तर नेपाल बाहिर निस्किनेबित्तिकै म नेपाल नै हुँ । बाहिर व्यक्ति वा संस्था होइन, देशको पहिचान महत्त्वपूर्ण हुन्छ । दोस्रो कार्यक्रम प्रयोगात्मक कक्षा हुनेछ, जहाँ ध्यानलाई प्रत्यक्ष अनुभव गराइनेछ । त्यसपछि डिसेम्बर २१—अन्तर्राष्ट्रिय ध्यान दिवसकै दिन वाशिंगटन डिसीस्थित नेपाली राजदूतावासमा अर्को कार्यक्रम आयोजना हुँदैछ । यसरी तीनवटा ठूला कार्यक्रममार्फत नेपाल विश्वमञ्चमा प्रस्तुत हुँदैछ । अन्तर्राष्ट्रिय ध्यान दिवस अघिल्लो वर्ष संयुक्त राष्ट्रसंघबाट औपचारिक रूपमा घोषणा गरिएको हो । नेपालसहित छ वटा देश यसको प्रस्तावक हुन् । तर यसका धेरै अवधारणाहरू नेपालको हिमाली सभ्यताबाट जन्मिएका हुन् । यस घोषणासम्म आइपुग्न करिब तीन वर्षसम्म निरन्तर पहल आवश्यक प–यो । यस्तो काम एक्लै सम्भव हुँदैन—सामाजिक र सांस्कृतिक ऊर्जा आवश्यक पर्छ ।
जीवन विज्ञानले त्यो ऊर्जा निरन्तर रूपमा पुर्याएको छ । यस घोषणाको सबैभन्दा ठूलो महत्व के हो भने ध्यान कुनै धर्मविशेषको अभ्यास होइन, यो एक वैज्ञानिक प्रक्रिया हो भन्ने कुरा विश्वले स्वीकार गरेको छ । पहिले ध्यान भन्नासाथ हिन्दु वा बौद्ध परम्परासँग मात्र जोडिन्थ्यो । आज संयुक्त राष्ट्रसंघले नै यसलाई मनाउँदा ध्यान एउटा गहिरो विज्ञान हो भन्ने प्रमाणित भएको छ फिजिक्स र केमिस्ट्रीजत्तिकै, तर अझ सूक्ष्म विज्ञान । आजको विश्वमा सम्पत्ति प्रशस्त छ, तर सम्मान छैन । सूचना धेरै छ, तर वास्तविक संवाद छैन । ज्ञान अत्यधिक छ, तर त्यो ज्ञान मानव हितमा प्रयोग गर्ने चेतना कमजोर छ । यस्तो अवस्थामा यदि प्रविधि र ज्ञान हिंसक वा असन्तुलित मानिसको हातमा पर्यो भने, त्यो सम्पूर्ण पृथ्वीका लागि अभिशाप बन्न सक्छ विशेषगरी एआईको यो युगमा । यही यथार्थलाई ध्यानमा राख्दै संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय ध्यान दिवसको घोषणा गरेको हो ।
ध्यानले नेपालको पहिचान कसरी चिनाएको छ ?
यसले नेपाललाई विश्व मानचित्रमा सान्दर्भिक बनाएको छ । अब संसारले बुझ्न थालेको छ ध्यान, योग, आयुर्वेद, प्राकृतिक चिकित्सा र आध्यात्मिक ज्ञानको उद्गम यही हिमालय हो । यदि कसैले ध्यान वा योगको गहिरो खोज गर्न चाह्यो भने ऊ अन्ततः नेपालमै आइपुग्छ । यी सबै—सांस्कृतिक, धार्मिक, आध्यात्मिक, प्राकृतिक र चिकित्सकीय सम्पदा– लाई एउटै सूत्रमा बाँध्दा त्यसलाई ‘आरोग्य’ भनिन्छ, जसलाई अंग्रेजीमा ‘वेलनेस’ भनिन्छ । त्यसैले हाम्रो लक्ष्य स्पष्ट छ, नेपाललाई विश्व आरोग्यको गन्तव्य बनाउने । यस क्षेत्रमा अपार सम्भावना र गहिरो अनुसन्धानका ढोका खुलिरहेका छन् । यही हाम्रो यात्रा हो, यही हाम्रो दायित्व हो ।
सरकार एवं अन्य निकायहरुको प्रतिक्रिया र सहयोग चाहीं कस्तो पाइरहनु भएको छ ?
यो अभियान सरकारको सहभागिताबिनै सम्भव हुँदैन । सरकारले नगरेर हामीले मात्र गरेर पनि यो लक्ष्य पूरा हुँदैन । अघिल्लो वर्ष पहिलो अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसरमा हामीले टुँडिखेलमा विराट कार्यक्रम आयोजना गरेका थियौँ, जहाँ सम्माननीय प्रधानमन्त्री स्वयं उपस्थित हुनुहुन्थ्यो । त्यो आयोजन केवल एउटा कार्यक्रम मात्र थिएन, त्यो सम्पूर्ण देशलाई दिएको स्पष्ट सन्देश थियो अब नेपाल विश्वमञ्चमा ध्यान र अध्यात्मसहित अघि बढ्न तयार छ । त्यही अभियानलाई निरन्तरता दिँदै यस वर्ष पनि नेपालमा ध्यान दिवसका कार्यक्रम आयोजना हुँदैछन् । यसपटक हामी संयुक्त राष्ट्रसंघलगायत विभिन्न अन्तरराष्ट्रिय मञ्चमा पुग्दैछौँ । अझ महत्वपूर्ण कुरा, विश्वभर रहेका नेपाली राजदूतावास, दूतावास र वाणिज्य नियोगमार्फत कम्तीमा ६०–६५ स्थानमा एकैसाथ ध्यान दिवस मनाइँदैछ । करिब ६०–६५ देशमा हाम्रा प्रशिक्षकहरू आफ्नै खर्चमा पुग्दैछन् । यो कुनै सरकारी कार्यक्रम होइन, यो समाजसेवा र अध्यात्मको अभियान हो । एकैचोटि विश्वको करिब एकतिहाइ भूभागमा ध्यान दिवस मनाइनु नेपालका लागि ऐतिहासिक कोशेढुंगा हो ।
तपाई विश्वभर अभियानमा हुनुहुन्छ । ध्यानकै कारण मानिसमा अस्वभाविक कुनै परिवर्तन आएको पाउनुभएको छ ?
यो कुनै एकदुई जनाको कुरा होइन । आज लाखौँ मानिसहरू यस अभ्याससँग जोडिइसकेका छन् । यहाँ राजनीतिककर्मीहरू हुनुहुन्छ, कलाकार, पत्रकार, प्राध्यापक, शिक्षक, गृहिणी, उद्यमीदेखि लिएर सामान्य श्रमिकसम्म सबै प्रकारका मानिसहरू सहभागी छन् । यसले के देखाउँछ भने ध्यान कुनै वर्ग, पेशा वा हैसियतसँग सीमित विषय होइन, यो प्रत्येक मनुष्यको साझा आवश्यकता हो । हामीले कुनै नयाँ कुरा दिन खोजेका छैनौँ । हामीले त केवल व्यक्तिभित्रै रहेको क्षमतालाई चिनाइदिने काम मात्र गरेका हौँ । त्यो क्षमता बाहिरबाट हाल्ने होइन, व्यक्ति आफैंले चिन्नुपर्ने कुरा हो । हाम्रो अभ्यासमा कसैलाई गुरु मान्नुपर्छ, माला फेर्नुपर्छ, टीका लगाउनुपर्छ भन्ने कुनै बाध्यता छैन । यस्ता कुराहरू अनावश्यक र अर्थहीन हुन् । हाम्रो उद्देश्य मानिसलाई हाम्रो बनाउनु होइन, मानिसलाई स्वतन्त्र बनाउनु हो ।
हामी विधि सिकाएर पठाइदिन्छौँ, त्यसपछि व्यक्ति आफैं जिम्मेवार हुन्छ स्वस्थ बन्ने, खुसी बन्ने, शान्त बन्ने र जीवनमा अघि बढ्ने । आफूले कल्पना गरेको जीवन निर्माण गर्ने वैज्ञानिक विधि नै ध्यान हो । यो आजको आविष्कार होइन योगीहरूले हजारौँ वर्षदेखि खोजेको, परीक्षण गरेको र प्रमाणित गरेको जीवन विज्ञान हो । कठोपनिषद्को मन्त्रले पनि यही भन्छ—“तिमीले यो ज्ञान पाएपछि जे चाहन्छौ, त्यो गर्न सक्षम बन्छौं ।” प्रत्येक व्यक्ति बलवान् छ, तर हामीले यो कुरा सिकाउन सकेनौँ । त्यही कारणले आज हामी शिक्षा मन्त्रालयसहित विभिन्न मन्त्रालय र निकायहरूसँग काम गरिरहेका छौँ, ताकि यो ज्ञान पाठ्यक्रममा आओस् र देशले नयाँ ढंगले सोच्न थालोस् । पुरानो सोचले अब पुग्दैन। हामीले धेरै धन त कमायौँ, तर मन परिवर्तन गर्न सकेनौँ । धन आयो, तर धनसँगै चेतना आएन । यही अभावले आज समाज भड्किएको छ मनको परिवर्तन ध्यानले मात्र सम्भव हुन्छ । त्यसैले उद्यमी, व्यवसायी, राजनीतिकर्मीहरू यहाँ आएर लाभ लिनु भएको छ । उहाँहरूले बुझ्नुभएको छ—भविष्यको समाज केवल धनले बन्दैन, धन र मन दुवै मिलेर मात्र बन्छ । र त्यसको एक मात्र माध्यम ध्यान हो ।
ध्यानका विषयमा तपाईंको थप भन्नुपर्ने केही छ ?
म सबैलाई एउटै अनुरोध गर्न चाहन्छु ध्यानको अभ्यास आजैबाट सुरु गर्नुस् । जस्तो जान्नुभएको छ, त्यहीँबाट सुरु गर्नुस् । गल्ती नगरी सिकिँदैन, कखरा लेख्न सिकेझैँ अभ्यास गर्दै जानुपर्छ । हाम्रा विधिहरू युट्युबमा सार्वजनिक छन्, ४०० भन्दा बढी निःशुल्क योग ध्यान केन्द्रहरू छन् । जहाँ गएर जो कोहीले लाभ लिन सक्नुहुन्छ । अन्त्यमा म यत्ति भन्न चाहन्छु एक परिवारले यदि एक हप्ता सँगै बसेर ध्यान अभ्यास ग–यो भने, त्यो परिवारको भाग्य परिवर्तन हुन्छ । गरेर हेर्नुस्, नभए मलाई भन्नुस्, हामी यहीँ छौँ । अन्तरराष्ट्रिय ध्यान दिवसको हार्दिक मंगलमय शुभकामना ।

