काठमाडौं - नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी आन्दोलनले नेपाली राजनीतिमा नयाँ परिस्थिति सिर्जना गरेको बताएका छन् । नेपाली कम्युनिष्ट पार्टीद्वारा काठमाडौंमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले गत भदौ २३ र २४ गते भएको जेनजी युवाहरूको आन्दोलनले राजनीतिक दलहरूलाई आत्म समीक्षा गर्न बाध्य बनाएको बताएका हुन् । उनले उक्त आन्दोलनले राजनीतिक वृत्तमा ‘सच्चिने वा सक्किन तयार रहने’ भन्ने बलियो सन्देश दिएको बताए ।
उनले भने, ‘गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले नितान्त नयाँ राजनीति परिस्थिति सिर्जना गरेको छ । त्यसले राजनीतिक वृत्तमा राजनीतिक दलहरूलाई कि सच्चिने प्रण गर या त सकिन्न तयार हौँ भन्ने एउटा बलियो सन्देश २३ गतेको जेनजी युवाहरूको आन्दोलनले दियो ।’
दाहालले जेनजी युवाहरूले सुशासनको पक्षमा, भ्रष्टाचारको विरोधमा तथा सामाजिक सञ्जालमा कुनै प्रकारको प्रतिबन्ध नलगाइयोस् र नागरिक स्वतन्त्रता कुण्ठित नहोस् भन्ने मागसहित आवाज उठाएको उल्लेख गरे । तर ती मागका पक्षमा आवाज उठाएकै कारण दर्जनौँ युवाले ज्यान गुमाउनुपरेको उनले बताए ।
उनले भने, ‘जेनजी युवाहरू जसले सुशासनको पक्षमा र भ्रष्टाचारका विरुद्ध जसले स्वतन्त्रताका पक्षमा सोसल मिडियामा कुनै खालको प्रतिबन्ध नहोस् र हाम्रो स्वतन्त्रता कुण्ठित नहोस् भन्नको निम्ति आवाज उठाएका थिए । तर त्यो आवाज उठाएकै कारण दर्जौंनौं शहीद हुन पुगे ।’
उनले जेनजी आन्दोलनपछि नेपाली राजनीतिमा दुई परस्पर विरोधी धार देखिएको पनि बताए । एक धारले युवाहरूलाई अपमान गर्ने, उनीहरूले उठाएका आवाजलाई गलत ढङ्गले व्याख्या गर्ने र आतंककारीसम्मको आरोप लगाउने प्रवृत्ति देखाएको दाहालको भनाइ थियो । अर्कोतर्फ, युवाहरूले उठाएका माग जायज रहेको स्वीकार गर्दै ती माग पूरा गरिनुपर्ने र युवाहरूको पहलको सम्मान गर्नुपर्ने विचारधारा पनि रहेको उनले स्पष्ट पारे ।
उनले भने, ‘जेनजी आन्दोलनपछि नेपाली राजनीतिमा नेपालका राजनीतिक दलहरूमा दुई वटा परस्पर विपरीत धाराहरू देखा परेका छन् । एउटा धारा युवाहरूलाई अपमानित गर्ने, युवाहरूले उठाएका आवाजहरूलाई गलत तरिकाले व्याख्या गर्ने, उनीहरूलाई आंतककारीसम्मको आरोप लगाउने एउटा प्रवृत्ति देखा पर्यो भने, अर्को विचार प्रवृत्ति जेनजी पुस्ताका युवाहरूले जायज कुरा उठाएका छन् र तिनका जायज मागहरूलाई पूरा गरिनुपर्दछ हामी ती जायज मागका निम्ति युवा प्रतिनिधिहरूलाई बधाई भन्न चाहन्छौँ । यसरी युवाहरूको पहलकदमीलाई सम्मान गर्ने, सुशासनका पक्षमा बगेको रगतलाई सम्मान गर्ने एउटा विचार एउटा प्रवृत्ति नेपालमा रहेको छ भने अर्को विचार र प्रवृत्तिलाई नकारात्मक रूपले टिप्पणी गर्ने र त्यसलाई बदनाम गर्ने अर्को प्रवृत्ति रहेको छ ।’
दाहालले सुशासनका पक्षमा बगेको रगत र युवाहरूको योगदानलाई सम्मान गर्नुपर्नेमा जोड दिँदै नकारात्मक टिप्पणी र बदनाम गर्ने प्रवृत्तिको आलोचना गरे ।

