चितवन - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू एक चुनावका लागि मात्र नभई एक पुस्ताको भविष्यका लागि राजनीतिमा आएको बताएका छन् । चितवनको चौबीस कोटीमा आयोजित सभालाई सम्बोधन गर्दै उनले चितवनवासीले अन्यायका विरुद्ध निरन्तर आवाज उठाउँदै आएको भन्दै आभार व्यक्त गरे । उनले चितवनले आफूलाई मात्र होइन, देशलाई नै न्याय गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘आज पर्यन्त अन्यायका विरुद्ध चितवनवासीले यहीँबाट आवाज उठ्दै आएको छ । यो गुन तपाईँहरूले मलाई मात्रै होइन, देशकै लागि लगाउनुभएको हो । म यही गुनको संवाहक बनेर देशलाई तिर्नेछु ।’
आफूमाथि भएको अन्यायको प्रसङ्ग उठाउँदै लामिछानेले व्यक्तिगत पीडाभन्दा देश र पुस्तालाई दिइएको पीडा ठूलो भएको बताए । ‘मलाई डस्ने सर्प मरे कि मरेनन् थाहा भएन, तर उनीहरूले दिएको विष बोकेर म आज पनि बाँचिरहेको छु । मलाई थुने, दुःख दिए भनेर चित्त दुखाउनुको अर्थ छैन । सिङ्गो देश र पुस्तालाई दिएको दुःखको हिसाब मिलाउनुपर्छ,’ उनले भने ।
उनले युवापुस्ताप्रति प्रतिबद्धता जनाउँदै जेन–जी पुस्ताको सङ्घर्ष खेर जान नदिने स्पष्ट पारे । साथै, बदला लिने राजनीतिमा आफू नलाग्ने पनि बताए। लामिछानेले चितवनको चौबीस कोटी ऐतिहासिक स्थल भएको उल्लेख गर्दै यहाँबाट देशका लागि न्यायको अभियान अघि बढ्ने विश्वास व्यक्त गरे ।
‘म एउटा चुनाव जित्नका लागि राजनीतिमा आएको होइन । एउटा पुस्ताको भविष्यका लागि आएको हुँ । त्याग गर्नुपर्ने भए पहिलो सूचीमा मेरो नाम हुन्छ । तर यदि कुरा केवल एउटा चुनावको मात्र हो भने, म त्यसका लागि तयार छैन,’ उनले भने । सभामा सहभागी समर्थकहरूले लामिछानेप्रति समर्थन जनाउँदै उनको भनाइलाई स्वागत गरेका थिए ।

