काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवनबाट सडकमार्ग हुँदै भैरहवा लगिएको छ ।
मौसमको खराबीले भैरहवास्थित गौतमबुद्ध विमानस्थलस्थलमा समयमा नै उडान नभएपछि लामिछानेलाई काठमाडौंबाट भरतपुर बिमानस्थल र त्यहाबाट सडकमार्ग हुँदै भैरहवा लगिएको हो । भरतपुर बिमानस्थलबाट सडकमार्ग हुँदै भैरहवा जाने क्रममा समर्थकहरुले चितवनमा रविको पक्षमा नारावाजी गरेका थिए । भैरहवा पुगेर आवश्यक कागजी प्रक्रिया पुरा गरेपछि रवि रिहा हुनुहुने बताइएको छ ।
यसअघि बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रवि लामिछानेलाई जमानतमा रिहा गर्न आदेश दिएको थियो ।
यसैबीच रास्वपाले सभापति लामिछानेलाई थुनामुक्त गर्न दिएको आदेशप्रति सम्मान व्यक्त गरेको छ । पार्टीका कार्यवाहक सभापति डोल प्रसाद अर्यालले शुक्रबार विज्ञप्ति जारी गर्दै विधिको शासन, कानुनी सर्वोच्चता र न्यायिक प्रक्रियाप्रति रास्वपा सदैव प्रतिबद्ध रहेको बताएका छन् ।
तत्कालीन निरंकुश सरकारले सुरु गरेको राजनीतिक प्रतिशोधको श्रृङ्खला भएको स्पष्ट भइसकेकोले अहिलेको नागरिक सरकारले आवश्यक कदम चाली यो प्रतिशोधको श्रृङ्खलालाई पूर्णविराम लगाउने विश्वास पार्टीको रहेका विज्ञप्तिमा उल्लेख छ । कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्किने अर्यालले जनाएका छन् ।

