काठमाडौं - एमाले महाधिवेशन केन्द्रीय निर्वाचन आयोगले नयाँ नेतृत्वका लागि भएको एमालेको मतदानको मतपरिणाम ३ घण्टामा सार्वजनिक गर्ने तयारी भइरहेको जनएको छ । केन्द्रीय निर्वाचन आयोग डा विजय सुब्बाले मतदान सकिएपछि प्राविधिक काम सकेर मतगणना शुरु भएको ३ घण्टामा परिणाम सार्वजनिक गरिने जानकारी दिए ।
मतगणना अझै सुरु भइसकेको छैन । ८ बजेबाट मतगणना सुरु गर्ने भनिएपनि प्राविधिक काम भइरहेकाले अझै करिब २ घण्टपछिमात्रै मतगणना सुरु हुने उनले जानकारी दिए । अहिले चिप्स निकालेर जम्मा गर्ने काम धमाधम भइरहेको छ ।
मतगणनामा उम्मेदवारको एक/एक जना प्रतिनिधि बस्नेछन् । मतगणनापछि सबैको एकैपटक मतपरिणाम आउने उनले बताए । ‘काउन्ट गर्दा गर्दै स्क्रिनमा देखाउने कुरा पनि भएको छ’ उनले भने ‘हेरौं टेक्निकल टिमले के के गर्छ ?’
केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष पोखरेलका अनुसार कुल २ हजार २ सय ६३ प्रतिनिधि मतदाता रहेकामा ३६ जना मतदानमा अनुपस्थित भए। मतदान बुधबार बिहान ९:१२ बजेदेखि सुरु भएको थियो।
एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटी चयनका लागि करिब ६४२ जनाले उम्मेदवारी दिएका छन्। मतदान प्रक्रियामा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको थियो।

