काठमाडौं - नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ । निर्वाचनमा जम्मा २ हजार २ सय ६३ मतदाता रहेकामा २ हजार २ सय २७ मत खसेको निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले जानकारी दिए ।
बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान आज बिहान ७ बजे सकिएको हो । अध्यक्षका प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलले सुरुमा मतदान गरेकोमा नेता योगेश भट्टराईले अन्तिम मतदान गरेका थिए ।
नयाँ नेतृत्व चयनका लागि पुस १ गते मतदानको कार्यतालिका सार्वजनिक गरिए पनि पटक–पटक सर्दै मतदान पुस २ गते बिहान ९ः३० बजेबाट सुरु भएको थियो । अध्यक्ष पदका लागि दुई जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा छ ।
त्यस्तै, शक्तिशाली मानिने महासचिव पदमा पनि दुई जनाबिच मात्र प्रतिस्पर्धामा उत्रिएका छन् । महासचिवका लागि शंकर पोखरेल र सुरेन्द्र प्रसाद पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन आयोगले २८ गते आइतबार साँझ निर्वाचन कार्यतलिका प्रकाशन गरेको थियो । आइतबार प्रकाशन गरिएको कार्यतालिका अनुसार पुस १ गते मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने कार्यक्रम रहे पनि पटक पटक संशोधन हुँदै मंगलबार साँझ पुर्याइएको थियो । मंगलबार साँझ अन्तिम समयमा प्राविधिक कारण देखाउँदै मतदान पुस २ गते बुधबार बिहान ८ बजेलाई सारिएको थियो । बिहान ८ बजे देखि हुने भनिएको मतदान साढे एक घण्टा ढिला गरी ९ बजेमात्र सुरु भएको थियो ।

