काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा हालसम्म ११०५ मत खसेको छ ।
महाधिवेशन स्थल भृकुटीमण्डपमा जारी मतदानमा राति ८ बजेसम्म ११०५ जनाले मतदान गरिसक्नुभएको एमाले केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए ।
बिहान ९:१२ बजेदेखि मतदान सुरू भएको हो । उनले मतदानमा मतदाताले ढिलोमा दुई घण्टा पाँच मिनेट र छिटोमा नौ मिनेटससम्म समय लगाएर मतदान गरेको बताए । उनका अनुसार मतदान गर्नका लागि सरदर एक जना मतदातालाई २५ देखि ३० मिनेट लाग्ने गरेको छ ।
उनले साँझ ८ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरेका प्रतिनिधिलाई राति अबेरसम्म मतदान गर्न पाउने व्यवस्था गरिने बताए । अहिले लाइनमा रहेका मतदातालाई सहजताका लागि टोकन वितरण गरिएको छ ।
महाधिवेशनमा दुई हजार २६३ मतदाता सहभागी छन् ।

