काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा हालसम्म ८०२ मत खसेको छ ।
महाधिवेशन स्थल भृकुटीमण्डपमा जारी मतदानमा अहिलेसम्म ८०२ जनाले मतदान गरिसक्नुभएको एमाले केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए ।
बिहान ९:१२ बजेदेखि मतदान सुरू भएको हो । उनले मतदानमा मतदाताले ढिलोमा दुई घण्टा पाँच मिनेट र छिटोमा नौ मिनेटससम्म समय लगाएर मतदान गरेको बताए । उनका अनुसार मतदान गर्नका लागि सरदर एक जना मतदातालाई २५ देखि ३० मिनेट लाग्ने गरेको छ ।
उनले साँझ ८ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरेका प्रतिनिधिलाई राति अबेरसम्म मतदान गर्न पाउने व्यवस्था गरिने बताए । अहिले लाइनमा रहेका मतदातालाई सहजताका लागि टोकन वितरण गरिएको छ ।
एमालेमा नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको समूह प्रतिस्पर्धामा छन् । एमालेमा ३०१ केन्द्रीय सदस्यीय लागि करिव ६४२ जनाको उम्मेदवारी परेको छ । मतदानमा ८० वटा विद्युतीय भोटिङ् मेसिन प्रयोगमा ल्याइएको छ ।
आयोगका उपाध्यक्ष पोखरेलका अनुसार मतदान सकिएको दुई घण्टामा परिमाण सार्वजनिक हुनेछ । महाधिवेशनमा दुई हजार २६३ मतदाता सहभागी छन् ।

