काठमाडौं - नेकपा (एमाले) को महाधिवेशनका क्रममा वरिष्ठ नेता कर्ण थापासँग भएको भनिएको विवादबारे कृष्ण सागर ओलीले स्पष्ट पारेका छन् । सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा सार्वजनिक भएको भिडियो क्लिपलाई लिएर घटनालाई अनावश्यक रूपमा बढाइचढाइ गरेर प्रस्तुत गरिएको उनको भनाइ छ ।
ओलीका अनुसार पत्रकार सम्मेलन भइरहेकै बेला सुरक्षाका क्रममा तलबाट माथि जान खोजिरहेका पत्रकारहरूलाई केही बेर रोक्ने क्रममा अनायासै धक्का लाग्दा कर्ण थापा लड्न पुगेका थिए । ‘यो कुनै झगडा वा लडाइँ थिएन । म सुरक्षाको जिम्मेवारीमा थिएँ, उहाँ अग्रज नेता हुनुहुन्छ । उहाँलाई अपमान गर्ने मेरो कुनै नियत र कारण छैन,’ उनले भने ।
कर्ण थापाले त्यस क्रममा सामान्य असन्तुष्टि व्यक्त गरे पनि विषयलाई ठूलो बनाउनुपर्ने अवस्था नरहेको उनको भनाई छ । ‘म उहाँलाई दाइ नै भन्छु । अग्रज नेताप्रति मेरो सधैं सम्मान छ,’ उनले दोहोर्याए । घटनापछि केही सञ्चारमाध्यममा आफूलाई लिएर गरिएको टिप्पणीप्रति असन्तुष्टि जनाउँदै उनले भने, ‘राष्ट्रिय टेलिभिजनमा गएर मेरो व्यक्तिगत विषय उठाउनु आवश्यक थिएन । सबै नेतामा कमजोरी हुन्छन्, म पनि अपवाद होइन । तर एकअर्कालाई दोषारोपण गर्नु ठीक होइन ।’
उनले आफूले घटनालाई सामान्य रूपमा लिएको र व्यक्तिगत इगोको विषय नबनाएको प्रष्ट पारे । ‘मैले नदेखेर भएको सामान्य त्रुटिलाई लिएर इगोको रूपमा लिनुभयो भने त्यो उहाँको दृष्टिकोण हो,’ कृष्ण सागर ओलीले भने । महाधिवेशनको सन्दर्भमा उनले एमालेभित्र व्यापक उत्साह देखिएको उल्लेख गर्दै अध्यक्ष पदमा केपी शर्मा ओली भारी बहुमतका साथ पुनः निर्वाचित हुने दाबी गरे । ‘९० प्रतिशतभन्दा बढी प्रतिनिधिहरू केपी ओलीलाई मतदान गर्न उत्साहित छन्,’ उनले भने ।
त्यस्तै, सचिव पदका उम्मेदवार महेश बस्नेतको योगदानको खुलेर प्रशंसा गर्दै उनले पार्टीलाई कठिन परिस्थितिबाट यहाँसम्म ल्याउन ओली र बस्नेतको महत्वपूर्ण भूमिका रहेको बताए । ‘संकटको घडीमा पार्टीका लागि ज्यान जोखिममा राखेर नेतृत्व गर्नेहरू नै आजको अवस्था बनाउने हुन्,’ उनले भने । उनले एमालेको एकता, नेतृत्व र संगठनात्मक सुदृढीकरणका लागि पुन केपी ओलीको नेतृत्व आवश्यक रहेको कृष्ण सागर ओलीले धारणा व्यक्त गरे ।

