सिन्धुपाल्चोक - सशस्त्र प्रहरीले बाह्रबिसेबाट ठूलो परिणाममा बिल बिजक नभएका सामानसहित चालक र गाडी नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल लामोसाँघु बेसबाट खटिएको टोलीले बाह्रबिसे नगरपालिका-४ बाट गएराति ११:४५ बजे तातोपानीबाट खाडिचौरतर्फ आँउदै गरेको बा ४ ख ५८६४ नम्बरको आईचर (मिनि टिफर) गाडीबाट बिल बिजक र भन्सार प्रज्ञापन पत्र नभएको अन्दाजी मूल्य ७ लाख २२ हजार १० रुपैयाँ बराबरको सामान बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर १६ गण हेडक्वाटर बन्देउका प्रहरी उपरीक्षक (एसपी) अच्युत मजगैयाँले जानकारी दिए । बरामद गरिएका सामानमा चक्लेट र ससहरू रहेको प्रहरीले बताएको छ ।
उनका अनुसार प्रहरीले गाडी र सामनसहित बाह्रबिसे नगरपालिका -६ मान्द्रा बस्ने चालक अन्दाजी ३६ वर्षीय शिवलाल तामाङ्गलाई पनि नियन्त्रणमा लिएको छ । चालकले ती सामान आफ्नै रहेको स्वीकार गरेका छन् ।
तामाङले तातोपानी भन्सार कार्यालयमा प्रज्ञापन नगरी सो सामानहरू सिधैं ल्याएका थिए । सशस्त्र प्रहरीले सामान र गाडीसहित २२ लाख २२ हजार १० रुपैयाँ बराबरको सामान तातोपानी भन्सार कार्यालयलाई जिम्मा लगाएको एसपी मजगैयाँले बताए।

