Harsamaya
बाजुराबाट केन्द्रसम्मको यात्रा : लालबहादुर थापाको खुल्ला केन्द्रीय सदस्य उम्मेदवारी

बाजुरा - नेकपा एमालेका नेता लालबहादुर थापाले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा खुल्ला केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी दर्ता गराउँदै प्रतिनिधिसँग सहयोग र समर्थनको अपिल गरेका छन् । बाजुरा जिल्लाबाट प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएका थापाले पार्टीको विभिन्न तहमा खेलेको भूमिका, सङ्गठन निर्माणमा दिएको योगदान र विकासप्रतिको प्रतिबद्धताका आधारमा आफू अघि बढेको स्पष्ट पारेका हुन् ।

‎थापाले २०४४ सालदेखि विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेको उल्लेख गर्दै पार्टीका विभिन्न सङ्गठन र जिम्मेवारी हुँदै दुई कार्यकाल बाजुरा जिल्लाको पार्टी प्रमुखको भूमिका निर्वाह गरेको बताए । २०५४ सालमा जिल्ला विकास समितिको सभापतिका रूपमा निर्वाचित भई जिल्लामा दीर्घकालीन सोचसहित विकासको आधार तयार गरिएको उनको भनाइ छ । सोही समयदेखि पञ्चवर्षीय योजनाको अवधारणाअनुसार विकास प्रक्रिया अघि बढाइएको र त्यसले राष्ट्रिय स्तरमै चर्चा पाएको थापाले स्मरण गरे ।

‎नवौँ र दशौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भइसकेका थापाले बाजुरा जिल्लाको इन्चार्ज तथा २०७४ सालको प्रतिनिधि सभा सदस्यका रूपमा पनि जिम्मेवारी निर्वाह गरिसकेका छन् । दुर्गम र पछाडि परेको बाजुरा जिल्लामा सडक, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा आफूले निरन्तर पहल गरेको उनको दाबी छ ।

‎११औँ राष्ट्रिय महाधिवेशन ऐतिहासिक महत्वको रहेको उल्लेख गर्दै थापाले देश–विदेशबाट मात्रै होइन, नेपालको कम्युनिस्ट आन्दोलनप्रति चासो राख्ने विभिन्न शक्तिहरूले यसलाई नजिकबाट हेरिरहेको बताए । यस्तो संवेदनशील घडीमा पार्टीलाई अझ बलियो, एकताबद्ध र जनमुखी बनाउने उद्देश्यले तेस्रो पटक खुल्ला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको उनले स्पष्ट पारे ।

‎उम्मेदवारी दर्ता नम्बर २२ रहेको जानकारी दिँदै थापाले बाजुरा जस्तो दुर्गम जिल्लाबाट केन्द्रीय नेतृत्वमा पुगेर पार्टी र मुलुकको विकासमा योगदान दिने आफ्नो यात्रामा प्रतिनिधि कमरेडहरूको साथ, सहयोग र विश्वास आवश्यक रहेको बताएका छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  २०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update