काठमाडौं - नेकपा एमालेको जारी ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया आइतबारदेखि सुरु भएको छ । निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार आज मनोनय दर्ता हुँदै छ ।
निर्वाचन कार्यतालिका अनुसार आज बिहान १०:१५ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ। त्यस लगत्तै बिहान १०ः३० बजेदेखि दिउँसो १ः३० बजेसम्म उम्मेदवारहरूको दरखास्त फाराम दर्ता गर्ने कार्यक्रम तय गरिएको छ ।
दरखास्त दर्ता सकिएपछि दिउँसो २ः३० बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ । प्रारम्भिक नामावली सार्वजनिक भएपछि उम्मेदवारविरुद्ध उजुरी दिने समय दिउँसो २ः३० बजेदेखि ३ बजेसम्म तोकिएको छ । सबै प्रक्रिया पूरा भएपछि आजै साँझ ६ः०० बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
निर्वाचन तालिकाअनुसार भोलि बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने कार्यक्रम रहेको छ।

