काठमाडौं - काठमाडौँको भृकुटीमण्डपमा नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज बन्दसत्र सुरु हुँदै छ । नयाँ नेतृत्व चयनका लागि बिहान साढे ७ बजेदेखि बन्द सत्र सञ्चालन हुने पार्टीले जनाएको छ ।
शनिबार भक्तपुरको सल्लाघारीमा महाधिवेशनको उद्घाटन गरेपछि एमाले आजबाट नेतृत्व चयन प्रक्रियामा प्रवेश गरेको हो । बन्द सत्रमार्फत आगामी पाँच वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गरिनेछ ।
देशभरका करिब साढे ६ लाख पार्टी सदस्यहरूमध्येबाट छनोट भएका २ हजार २ सय ६२ जना प्रतिनिधिले एक अध्यक्ष , महासचिव एक, तीन उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिवसहित २५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछन् ।
नेतृत्व चयनका लागि सहमतिमै टुङ्ग्याउने प्रयास भइरहेको एमालेले जनाएको छ । सहमति जुट्न नसके मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिनेछ । त्यसका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने तयारी गरिएको छ । ,

