काठमाडौं - नेकपा एमालेकी नेतृ भगवती न्यौपानेले नेतृत्व हस्तानतरण र पुस्तानतरण भनेको आवश्यकताले हुने भन्दै आजको समयले अध्यक्ष केपी शर्मा ओलीलाई नै माग गरेको बताएकी छिन् ।
शुक्रबार पार्टी कार्यालय च्यासलमा जारी एमालेको सचिवालय बैठकको क्रममा उनले नेतृत्व पुस्ताभन्दा पनि योग्यता, क्षमता र समयको मागको आधारमा हुनुपर्ने बताइन् ।
उनले भनिन्, ‘नेतृत्व हस्तानतरण र पुस्तानतरण भनेको आवश्यकताले हुने हो । त्यसैले पुस्ताभन्दा पनि योग्यता, क्षमता र समयको माग पनि हो । आजको समयले अध्यक्ष केपी शर्मा ओलीलाई नै माग गरेको छ । त्यसैले अहिलेको अध्यक्षको नेतृत्वमा नै कमिटी बन्छ ।’
त्यस्तै उनले अहिले केपी ओलीले लिएको राष्ट्रवादको कारण उनीमाथि आक्रमण भइरहेको भन्दै ओलीमाथिको आक्रमणलाई देशमाथिको आक्रमणको रुपमा बुझ्नुपर्ने धारणा राखिन् ।
‘अहिले अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण किन भइरहेको छ भन्ने विषयमा सबैले बुझ्न जरुरी छ । हामी स्वाभिमानी नेपाली भएपछि यो देशमाथिको आक्रमण हो भन्ने बुझ्नुपर्छ । केपी ओलीले लिएको राष्ट्रवादको कारण यो हमला भएको हो’,उनले भनिन ।

