काठमाडौं - नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ ले आसन्न निर्वाचनका लागि थप दुई जनाको नाम थपेर सात जनाको नाम सिफारिस गरेको छ ।
मंगलबार बाह्रबिसेमा बसेको क्षेत्रीय कार्यसमिति बैठकमा पाँच जनाको नाम राष्ट्रिय सभा र प्रतिनिधिसभाका लागि पठाउने छलफल भएपनि थप दुई जनाको नाम थपेर सात जना उम्मेदवारको नाम जिल्ला कार्यसमिति सिन्धुपाल्चोकमा सिफारिस गरेको क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले जानकारी दिए ।
क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको प्रत्यक्षका लागि केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मोहन बहादुर बस्नेतको नाम सर्वसम्मत सिफारिस गरेको हो । यस्तै प्रतिनिधिसभा समानुपातिक तर्फ महाधिवेशन प्रतिनिध डा. प्रेमध्वज लामा, दोर्जे लामा (हाउडे) र यस्मीन ढुंगानाको नाम सिफारिस गरिएको छ । लामा गत जिल्ला महाधिवशनमा तेस्रो भएका थिए भने दोर्जे जिल्ला उपसभापति हुन् । राष्ट्रिय सभाका लागि भने महासिमित सदस्य भोला बोहोरा, जिल्ला सभापति जंग बहादुर लामा र वेद बहादुर श्रेष्ठको नाम सिफारिस गरिएको छ । बोहोरा काँग्रेसका पुराना नेता हुन् भने श्रेष्ठ उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य हुन् ।
नेपाली कांग्रेसले केन्द्रीय समितिको निर्णयका आधारमा प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ तीन जना, समानुपातिकतर्फ दुई जना र राष्ट्रियसभाका लागि तीन जनाको नाम सिफारिस गर्न परिपत्र गरेको छ । सोही अनुसार क्षेत्र नम्बर १ ले नाम सिफारिस गरेको हो । आज जिल्ला कार्यसमितिले छलफल गरेर थप नाम केन्द्रीय कार्यसमितिमा सिफारिस गर्नेछ ।
निर्वाचन आयोगले फागुन २१ गते प्रतिनिधिसभा र माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन तोकेको छ ।

