काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको बराहक्षेत्र नगरपालिका चक्रघट्टीका तत्कालीन सबइन्जिनियर शिव नारायण मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले उनीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी सरकारी सेवा प्राप्त गरेको भन्दै बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा उनले भारतको बिहार विद्यालय परीक्षा समिति, पटनाबाट माध्यमिक (हाईस्कूल) तह प्रथम श्रेणीमा उत्तीर्ण भएको नक्कली प्रमाणपत्र र मडैया बलुवा उच्च विद्यालयको विद्यालय परित्यागको कागजातसमेत झुट्टा प्रस्तुत गरेको उल्लेख छ ।
नक्कली कागजातको भरमा मण्डलले जिल्ला विकास समितिको कार्यालय, सुनसरीमा २०५३ साल साउन १ गतेदेखि लागू हुनेगरी सहायक सबओभरसियरमा स्थायी नियुक्ति पाएका थिए ।
त्यसपछि २०६७ माघ ७ गते उनी सहायक इन्जिनियर पदमा बढुवा भई दीर्घकालसम्म तलब–भत्ता, सरकारी सेवा सुविधा र ओहदा भोग गर्दै आएका थिए ।

