Harsamaya
वरिष्ठ उपाध्यक्ष पोखरेलले महाधिवेशनमा छलफलका लागि पेश गरेको  छुट्टै अवधारणा पत्रमा के छ ? 
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल ।

काठमाडौं - नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको आगामी महाधिवेशनमा छलफलका लागि छुट्टै अवधारणा पत्र पार्टी कार्यालयमा बुझाएका छन् । 

सोमबार च्यासलस्थीत पार्टी कार्यालय पुगेर पोखरेलले ४० पृष्ठ लामो अवधारणा पत्र पार्टी महासचिव शंकर पोखरेललाई बुझाएका हुन् । पोखरेलको अवधारणापत्रमा फरक मत राखेकै कारण कसैले पार्टीमा अपमानित या उपेक्षित भएको अनुभूति गर्ने अवस्था सिर्जना हुन नदिने, उपयुक्त विधिद्वारा निर्णय भइसकेपछि निर्णय कार्यान्वयनको प्रत्याभूतिको सुनिश्चित गर्नुपर्ने उल्लेख छ ।

नेतृत्वको अस्वस्थ प्रतिस्पर्धालाई रोक्न, सहज ढङ्गले नेतृत्व हस्तान्तरणको व्यवस्था मिलाउन र वैकल्पिक नेतृत्व स्थापित गर्न पार्टीको प्रमुख पदमा लगातार दुई कार्यकालको समयसीमा तोकिनुपर्नेमा उनले जोड दिएका छन् भने सीमित नेताहरु बसेर निर्णय गर्ने र त्यही निर्णयलाई औपचारिकता दिनका लागि कमिटीका बैठकबाट पारित गराउने गैरलोकतान्त्रिक अभ्यासले निर्णयको प्रभावकारी कार्यान्वयन र जिम्मेवारी बहन नहुने समस्या पार्टीमा देखिएको समेत अवधारणापत्रमा उल्लेख छ ।

त्यस्तै उहाले पार्टीका पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीलाई पार्टी सदस्य हुनबाट वञ्चित गरिंदा पार्टीलाई वैचारिक रूपले थप सशक्त, सांगठनिक ढङ्गले अझ एकताबद्ध र सुदृढ बनाउने कुरामा असर पर्ने भएकाले पार्टी काममा फर्कने बातावरण निर्माण गरिनुपर्नेमा जोड दिएका छन् । 

पार्टी कार्यालयमा अवधारणा पत्र बुझाएपछि बरिष्ठ उपाध्यक्ष पोखरेलले आफूले राखेका विषय पार्टीको महाधिवेशनमा छलफल हुने दस्तावेजमा समिटिने विश्वास व्यक्त गरे । 

विधिसम्मत रुपमा पार्टीको नेतृत्व चयन हुने कुरामा आफू विश्वस्त रहेको उनको भनाइ छ । उनले महाधिवेशन प्रतिनिधि छनोटमा अस्वस्थ प्रतिष्पर्धा हुँदा केही स्थामा समस्या देखिएपछि अध्यक्षसंगको छलफलपछि समाधान भइसकेको बताए । 

प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२  १८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update